अध्यादेश ल्याउने विधि लोकतन्त्र, संवैधानिक मान्यता र परम्पराविरुद्ध : दाहाल

नेकपा संयोजक दाहालले सदनको अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउने विधि लोकतन्त्रको खिलाफमा रहेको प्रतिक्रिया दिएका छन् ।

वैशाख १७, २०८३

महेश केसी

The method of bringing ordinances is against democracy, constitutional norms and tradition: Dahal

रुकम पश्चिम — नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सदनलाई छलेर अध्यादेश ल्याउने सरकारको प्रक्रिया लोकतन्त्रको खिलाफमा रहेको प्रतिक्रिया दिएका छन् ।

रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सदनको अधिवेशनलाई स्थागित गरेर अध्यादेश ल्याउने विधि लोकतन्त्र, संवैधानिक मान्यता र परम्पराका विरुद्धमा भएकाले यस्तो गल्ती नगर्न सरकारलाई सावधान गराएका छन् । 

साथै दाहालले सरकारले अहिलेको संवैधानिक व्यवस्था, परम्परा र अन्तर्राष्ट्रिय मान्यतालाई पनि मिचेर ट्रेड युनियन र विद्यार्थी आन्दोलनमाथि अंकुश लगाउने कुरा निरंकुशतातिरको यात्रा हुन सक्ने भन्दै यसलाई तत्काल रोक्न माग गरेका छन् । 

सरकारले सुकुमवासी बस्ती खाली गराएको विषयमा प्रतिक्रिया दिँदै उनले भने, ‘सुकुमवासीको वास्तविक पहिचान र उनीहरुको वैकल्पिक व्यवस्थापन नगरीकन बल प्रयोगको तरिकाले डोजर लगाएर गरिब, निमुखालाई आहत हुने किसिमले जो काम सरकारले गरेको छ, बिलकुल गलत छ ।’ 

भर्खरै सम्पन्न आमनिर्वाचन सामान्य र स्वाभाविक नभएको भन्दै संयोजक दाहालले कैयौं ठाउँबाट आएका रिपोर्टले फरक प्रकारको शंका उत्पन्न गराएको भनेका छन् । ‘जित्नुपर्नेले हारेको छ, हार्नुपर्नेले जितेको छ । अनि कति ठाउँमा त आफैले हालेको मतसमेत पनि नपाएका भन्ने सुनियो । यसकारण यो निर्वाचन अरु बेलाको जस्तो सामान्य र स्वाभाविक होइन,’ उनले भने । 

आफ्नो पार्टी अब एकताका बाँकी काम सम्पन्न गर्न महाधिवेशनको तयारीमा जुटेको बताउँदै उनले आगामी मंसिर ११ देखि १५ मा महाधिवेशन गर्ने र यसअघि विभिन्न तहका अधिवेशनहरु सम्पन्न गरेर नयाँ तरिकाले अघि बढ्ने योजना दाहालले सुनाए । 

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully