हजारौंलाई घरबारविहीन बनाएकाले प्रधानमन्त्री शाहले राजीनामा दिनुपर्छ : अध्यक्ष राई

सरकारले बहानाबाजी गरेर हजारौं जनतालाई घरबारविहीन बनाएको र यसप्रति संयुक्त राष्ट्रसंघले पनि निन्दा गरिसकेकाले डोजर चलाउन तत्काल छाड्नु पर्ने उनको भनाइ छ ।

वैशाख १७, २०८३

डम्बरसिं राई

Prime Minister Shah should resign for making thousands homeless: Chairman Rai

खोटाङ — श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज राईले सरकारले सुकुमवासीमाथि राज्य आतंक मच्याएकाले प्रधानमन्त्री बालेन्द्र साहले राजीनामा दिनु पर्ने बताएका छन् । बिहीबार दिक्तेल आइपुगेका राईले सरकारले मानवअधिकार हनन् गर्दै हजारौंलाई घरबारविहीन बनाएकाले नैतिकताको आधारमा राजीनामा दिनु पर्ने बताएका हुन् ।

सरकारले बहानाबाजी गरेर हजारौं जनतालाई घरबारविहीन बनाएको र यसप्रति संयुक्त राष्ट्रसंघले पनि निन्दा गरिसकेकाले डोजर चलाउन तत्काल छाड्नु पर्ने उनको भनाइ छ । ‘अन्तर्राष्ट्रिय कानुन उल्लंघन हुने गरी, मानवअधिकार हनन् हुने गरी, मानवताविरुद्ध जनतालाई बेघरबार बनाउने, सडकमा सुताउने क्रियाकलाप निन्दनीय छ,’ पत्रकारहरूसँग कुरा गर्दै राईले भने, ‘सरकारको नेतृत्व गर्ने वालेन्द्रले राजीनामा दिनु पर्छ ।’

शान्ति सुरक्षा, सुशासन, विकास निर्माणमा सरकारले काम गर्नुपर्नेमा उल्टै राज्य आतंक मच्याएकाले यसलाई तत्काल बन्द गर्नु पर्ने समेत राईले बताए । श्रम संस्कृति पार्टी प्रतिपक्षी भएकाले सरकारको कडा आलोचना गर्ने समेत राईले जनाए । 

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित ११० फिट अग्लो यलम्बरको सालिक अनावरण गर्न खोटाङ आएका राई विवाद भएपछि अनावरण नगर्नेमा पुगेका छन् । अहिले संसद् सञ्चालन नभएको र चुनावपछि गृहजिल्ला नआएकाले मतदातालाई धन्यवाद दिन जिल्ला आएको राईले बताए । 

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully