व्यावहारिक कठिनाइलाई सम्बोधन गर्न अध्यादेश : असिम शाह

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहले सरकारले ल्याएको अध्यादेशको बचाउ गर्दै कुनै स्वार्थका लागि नभई नागरिकको हितका लागि भएको दाबी गरेका छन् ।

वैशाख १७, २०८३

दुर्गा दुलाल

Ordinance to address practical difficulties: Asim Shah

What you should know

काठमाडौँ — प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहले सरकारले ल्याएको अध्यादेशको बचाउ गर्दै कुनै स्वार्थका लागि नभई नागरिकको हितका लागि भएको दाबी गरेका छन् । सामाजिक सञ्जालमा उनले अध्यादेशको बचाउ गर्दै जनादेशको मर्म अनुसार शासकीय सुधारका लागि सरकारले अध्यादेश ल्याएको दाबी गरेका हुन्।

‘सरकारले सार्वजनिक सेवा प्रवाह र प्रशासनिक प्रणालीमा रहेका नीतिगत जटिलताहरू हटाउन महत्वपूर्ण कदम चालेको छ। २०८३ वैशाख १४ गतेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेललाई अध्यादेशहरू प्रमाणीकरण गर्नु पठाएको छ । वर्तमान सरकार गठन भएलगत्तै सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिले नयाँ जनादेशको मर्म अनुसार शासकीय सुधारका लागि राजनीतिक नियुक्ति पाएका पदाधिकारीहरूलाई मार्गप्रशस्त गर्न आह्वान गर्नुभएको थियो ’ उनले लेखेका छन् ‘ सो आग्रहका बावजुद कार्यसम्पादन र समन्वयमा देखिएका व्यावहारिक कठिनाइलाई सम्बोधन गर्न सरकारले यो कानुनी बाटो रोजेको हो। यसले कार्यसम्पादनमा देखिएका अवरोध (डेड्लक) अन्त्य गरी नतिजामुखी शासन पद्धति स्थापित गर्न सहज हुने छ।’ 

सार्वजनिक सरोकारका निर्णयहरू निश्चित समयभित्रै सम्पादन गरी जनतालाई सुशासनको प्रत्याभूति गराउन यो अध्यादेश ल्याइएको  उनको तर्क छ । पुराना र जटिल कानुनी प्रावधानका कारण जनहितका कार्यमा हुने विलम्बलाई यसले अन्त्य गर्ने  उनले बताए । 

‘विगतमा दशकौँसम्म अल्झिएका प्रक्रियागत समस्याहरूलाई पहिचान गरी तिनको दिगो र वैज्ञानिक समाधान निकाल्ने सरकारको लक्ष्य रहेको छ। यो अध्यादेशहरू कुनै व्यक्ति वा समूहको स्वार्थका लागि नभई विशुद्ध रूपमा नागरिकको हित र राज्य संयन्त्रको प्रभावकारिताका लागि ल्याइएको छ ’ उनले लेखेका छन् ‘कानुनी जटिलताका कारण जनसरोकारका काम रोकिनु हुँदैन भन्ने लोकतान्त्रिक मान्यतालाई आत्मसात गर्दै यसले देशको समृद्धिको यात्रालाई थप गति दिने बलियो आधार खडा गरेको छ । ’

दुर्गा दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully