तरुण दलका अध्यक्ष गुरुङले दिए राजीनामा

पत्रमा गुरुङले २०७९ फागुन १ गते आफूलाई दिइएको जिम्मेवारीप्रति आभार व्यक्त गर्दै कार्यकालभर पार्टी र संगठनप्रति इमानदार भएर काम गरेको उल्लेख गरेका छन्।

वैशाख १६, २०८३

कुलचन्द्र न्यौपाने

Tarun Dal Chairman Gurung resigns

काठमाडौँ — नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले पदबाट राजीनामा दिएका छन्। उनले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिलाई सम्बोधन गर्दै लेखेको पत्रमार्फत राजीनामाको घोषणा गरेका हुन् ।

पत्रमा गुरुङले २०७९ फागुन १ गते आफूलाई दिइएको जिम्मेवारीप्रति आभार व्यक्त गर्दै कार्यकालभर पार्टी र संगठनप्रति इमानदार भएर काम गरेको उल्लेख गरेका छन्। उनले तरुण दललाई चलायमान र सशक्त बनाउन केन्द्रीय समितिदेखि जिल्ला तथा स्थानीय तहसम्म समन्वय र सक्रियता बढाउने प्रयास गरेको पनि बताएका छन्।

उनका अनुसार, पाँचौं महाधिवेशन तोकिएको समयमै सम्पन्न गर्नुपर्ने आवश्यक भए पनि विभिन्न राजनीतिक परिस्थितिका कारण त्यो सम्भव हुन नसकेको बताएका छन् । वर्तमान अवस्थामा संगठनलाई थप गतिशील बनाउन नयाँ नेतृत्व आवश्यक भएको निष्कर्षसहित उनले पदबाट बाहिरिने निर्णय लिएको जनाएका छन्।

गुरुङले तरुण दललाई पार्टीको मूल विचार, संगठन र अनुशासनप्रति प्रतिबद्ध बनाउँदै अघि बढाउनुपर्नेमा जोड दिएका छन् । साथै, उनले संगठनभित्र एकता, विश्वास र स्पष्ट कार्यदिशाको खाँचो औंल्याउँदै आगामी दिनमा नयाँ नेतृत्वले त्यो भूमिका पूरा गर्ने विश्वास व्यक्त गरेका छन्।

पत्रको अन्त्यमा उनले 'आगामी दिनमा अझै ठोस राजनीतिक दृष्टिकोण र स्पष्ट कार्यदिशासहित अघि बढ्दै नेपाली कांग्रेस पार्टीलाई पूर्ण विचारसहित स्थापित गर्ने' अपेक्षा व्यक्त गरेका छन् ।

कुलचन्द्र उनी कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदिय मामिला र दलहरुको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully