प्रतिनिधिसभा संसदीय दलको उपनेतामा अभिषेकप्रताप साह, प्रमुख सचेतकमा बासना थापा र सचेतकमा निश्कल राई
काठमाडौँ — कांग्रेसले राष्ट्रियसभा संसदीय दलको नेताबाट कृष्णप्रसाद सिटौलालाई हटाएको छ । उनको ठाउँमा सांसद कमला पन्तलाई दलको नेता बनाइएको छ ।
पार्टीभित्र समानान्तर गतिविधिमा सक्रिय रहेका सिटौलालाई प्रतिनिधिसभा संसदीय दलका नेता भीष्म आङ्देम्बेले बुधबार हटाएका हुन् । दलको विधानअनुसार प्रतिनिधिसभा संसदीय दलको नेताले राष्ट्रिय सभाको संसदीय दलको नेता गर्न र हटाउन सक्ने अधिकार छ ।
दलको विधानका धारा १२ (२) बमोजिम सिटौलालाई हटाएर पन्तलाई संसदीय दलको नेता बनाइएको हो । पार्टीभित्रको एकताका लागि सिटौला मुख्य बाधक बन्दै आएको निष्कर्ष समेत संस्थापनपक्षीय नेताहरूले लगाउँदै आएका थिए ।
त्यसैगरी आङ्देम्बेले प्रतिनिधिसभा संसदीय दलको उपनेतामा अभिषेकप्रताप साहलाई मनोनयन गरेका छन् । बुधबार नै उनले दलको प्रमुख सचेतकमा बासना थापा र सचेतकमा निश्कल राईलाई मनोनयन गरेका छन् ।
