खड्कामाथिको स्पष्टीकरण प्रकरण तामेलीमा, रामेछाप सभापति तामाङ निलम्बित

सर्वोच्च अदालतको वैशाख ४ गतेको फैसलापछि उक्त निर्णयको औचित्य समाप्त भएको ठहर गर्दै समितिले यस विषयमा थप प्रक्रिया अघि नबढाउने जनाएको हो।

वैशाख १६, २०८३

कुलचन्द्र न्यौपाने

Khadka's clarification case settled, Ramechhap Chairman Tamang suspended

काठमाडौँ — कांग्रेस केन्द्रीय अनुशासन समितिले पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग सम्बन्धित स्पष्टीकरण प्रकरण तामेलीमा राख्ने निर्णय गरेको छ। सर्वोच्च अदालतको वैशाख ४ गतेको फैसलापछि उक्त निर्णयको औचित्य समाप्त भएको ठहर गर्दै समितिले यस विषयमा थप प्रक्रिया अघि नबढाउने जनाएको हो।

समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा बीपी स्मृति भवनमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) लाई भने पदबाट निलम्बन गर्ने निर्णय गरेको छ। अनुशासन उल्लंघनसम्बन्धी आरोपमा दिइएको स्पष्टीकरण प्रारम्भिक रूपमा सन्तोषजनक नदेखिएको र थप अनुसन्धान आवश्यक देखिएकाले उनलाई पदमा रहँदा अनुसन्धान प्रभावित हुने ठहर गर्दै निलम्बन गरिएको समितिले जनाएको छ।

त्यस्तै, प्रतिनिधिसभा सदस्य निर्वाचनसँग सम्बन्धित अनुशासन उल्लंघनका उजुरीहरूको छानबिन सम्पन्न भइसकेको जनाउँदै समितिले आरोपित व्यक्तिहरूसँग सात दिनभित्र स्पष्टीकरण माग्ने निर्णय गरेको छ। साथै, स्पष्टीकरणका लागि ह्वाट्सएप, इमेल, भाइबर, मेसेन्जरलगायतका माध्यम प्रयोग गरिने जनाइएको छ

कुलचन्द्र उनी कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदिय मामिला र दलहरुको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully