सिंहदबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बुधबार विपक्षी दलको बेठकले संसदको बैठक स्थगित गरी सिफारिश गरिएका अध्यादेश जारी नगर्न आग्रह गरेका हुन् ।
What you should know
काठमाडौँ — विपक्षी दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकाले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गरेका अध्यादेश जारी नगर्न आग्रह गरेका छन् ।
सिंहदबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बुधबार विपक्षी दलको बेठकले संसदको बैठक स्थगित गरी सिफारिश गरिएका अध्यादेश जारी नगर्न आग्रह गरेका हुन् । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे, एमाले दल नेता रामबहादुर थापा, नेकपा प्रमुख सचेतक युवराज दुलाल र राप्रपा सांसद सरस्वती लामा सहभागी बैठकले अध्यादेशको बिरोध गर्दै संसद् बैठक बोलाउन समेत माग गरेका छन् ।
‘नेपाल सरकारले यही वैशाख १४ गते संवैधानिक परिषद्को काम कर्तव्य र अधिकार सम्बन्धी ऐन, २०६६ र सहकारी ऐन, २०७४ लाई संशोधन गर्ने दुई वटा अध्यादेशहरु तथा वैशाख १५ गते स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी आध्यादेश, केही नेपाल कानुन संशोधन गर्न बनेको अध्यादेश र विश्वविद्यालय सम्बन्धी अध्यादेश जारी गर्ने निर्णय गरी सम्माननीय राष्ट्रपति समक्ष सिफारिस गरेको छ’ चार दलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संसद्को अधिवेशन आह्वान गरे लगत्तै स्थगनगरि यसरी अध्यादेश ल्याउनु घोर असंसदीय र अलोकतान्त्रिक कदम भएकोले हामी घोर विरोध, भत्सर्ना र निन्दा गर्दछौं । अध्यादेशहरु अविलम्ब फिर्ता गर्न नेपाल सरकारसाग जोडदार माग गर्दछौं । सम्माननीय राष्ट्रपति समक्ष सिफारिस भई गएका अध्यादेशहरु संसद् छल्ने उद्देश्यका साथ सिफारिस भई आएका हुनाले स्विकृत नगर्न सम्माननीय राष्ट्रपति समक्ष हार्दिक अनुरोध गर्दछौं ।’
ती दलले स्थगन गरिएको संघीय संसद्को अधिवेशन अविलम्ब आह्वान गर्न समेत माग गरेका छन् । बैठकपछि कांग्रेस दल नेता आङदेम्बेले विपक्षी दल श्रम संस्कृति पार्टीलाई समेत समेटेर जाने बताए । उनले बैठकको आयोजना गरेका थिए ।
