संसद्‌मा प्रमुख प्रतिपक्षी दलको नेताको भूमिका के हुन्छ, कस्ता सुविधा पाउँछन् ? पाँच प्रश्नोत्तरमा बुझौं

संसदीय लोकतन्त्रमा सरकारलाई जवाफदेही बनाउने काम प्रतिपक्षले गर्छ । सरकारका नीति, कार्यक्रम र बजेटमा प्रश्न उठाउने, अविश्वास प्रस्ताव ल्याउने, संसद्‌मा वैकल्पिक दृष्टिकोण राख्ने र कार्यकारीको कमजोरीलाई सार्वजनिक गर्ने मुख्य जिम्मा प्रमुख प्रतिपक्षको हो ।

वैशाख १४, २०८३

कृष्ण बहाब

What is the role of the leader of the main opposition party in Parliament, and what privileges do they receive? Let's understand in five questions and answers.

What you should know

काठमाडौँ — कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे निर्विरोध चयन भएका छन् । सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले आङ्देम्बेलाई दलको नेताका रूपमा चयन गरेको हो । संसद्‍मा प्रमुख प्रतिपक्ष दलको भूमिकामा रहेको कांग्रेसमा दलको नेता चयनबारे लामो समयदेखि रस्साकस्सी चलिरहेको थियो । कांग्रेस संसदीय दलको नेता चयनका लागि सुरुमा तीनजनाको दाबी थियो- अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्य । तीनैजनाले दाबी नछाडेपछि पार्टीले निर्वाचनको तयारी गरेको थियो अन्तत: सहमतिमै आङ्देम्बे दलका नेता चयन भए ।

संविधानको धारा २८४ अन्तर्गत गठित संवैधानिक परिषद्‍मा प्रमुख प्रतिपक्षी दलको नेता पदेन सदस्य रहने व्यवस्थाअनुसार आङ्देम्बे परिषद्को सदस्य समेत बनेका छन् । यो पद कति महत्त्वपूर्ण छ ? प्रमुख प्रतिपक्षी दलको नेताले के कस्ता अधिकार र सुविधा पाउँछ  ? पाँच प्रश्नोत्तरमा बुझौं ।

संसदीय दल भनेको के हो र यसको नेता कसरी चुनिन्छ ?

संसदीय दल भनेको कुनै राजनीतिक पार्टीको संसद्‌भित्रको समूह हो । यसमा निर्वाचित सांसदहरू मात्रै सदस्य हुन्छन् । पार्टी र संसदीय दल एउटै होइन् । पार्टी भनेको देशभरि फैलिएको विशाल राजनीतिक संगठन हो भने संसदीय दल त्यसैको संसद्‍‍भित्रको समूह मात्रै हो । जस्तै, कांग्रेसको ३८ जना सांसद छन् भने ती ३८ जनाले मिलेर प्रतिनिधिसभामा कांग्रेसको संसदीय दल बनाउँछन् ।

नेपालमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ ले संसदीय दल गठनको प्रक्रिया निर्धारण गर्छ । प्रतिनिधिसभामा कम्तीमा दुई सिट जितेको दलले संसदीय दल बनाउन पाउँछ । चुनावको परिणाम घोषणाको ३० दिनभित्र संसदीय दल गठन गरेर नेता चयन गर्नुपर्छ । संसदीय दलको नेताले उपनेता, प्रमुख सचेतक र सचेतकहरू छान्छ । संसदीय दलको एउटा महत्त्वपूर्ण शक्ति भनेको 'ह्विप' हो । मतदानका बेला पार्टीले आफ्ना सांसदहरूलाई 'ह्विप' जारी गर्न सक्छ जसको पालना गर्नु अनिवार्य हुन्छ । सरकारलाई विश्वास वा अविश्वास दिने विषय, बजेट पास गर्ने वा नगर्ने, राष्ट्रिय महत्त्वका विधेयकमा मतदान लगायत विषयमा ह्विप लगाइन्छ । ह्विप उल्लंघन गर्ने सांसदलाई पार्टीले कारबाही गर्न सक्छ र उसको सांसद पदसमेत जान सक्छ । २०७७ सालमा सांसद सरिता गिरीले जनता समाजवादी पार्टीको ह्विप मानेनन् र उनको सांसद पद गएको थियो ।

संवैधानिक दृष्टिले प्रमुख प्रतिपक्षी दलको नेता हुनुको के अर्थ छ ?

नेपालको संविधानको धारा २८४ अन्तर्गत गठित संवैधानिक परिषद्‌मा प्रमुख प्रतिपक्षी दलको नेता पदेन सदस्य हुन्छन् । यो परिषद्‌मा प्रधानमन्त्री (अध्यक्ष), प्रधानन्यायाधीश, प्रतिनिधिसभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधिसभाको उपसभामुख र प्रमुख प्रतिपक्षी दलको नेता रहन्छन् । परिषद्ले प्रधानन्यायाधीश, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोग, महालेखापरीक्षकलगायत महत्त्वपूर्ण संवैधानिक निकायका प्रमुखहरूको नियुक्तिका लागि सिफारिस गर्छ ।

यसको अर्थ के हो भने आङ्देम्बे एउटा साधारण प्रतिपक्षी सांसद मात्र होइनन् । देशको सर्वोच्च संवैधानिक पदहरूमा नियुक्तिको सिफारिसमा उनको प्रत्यक्ष भूमिका रहन्छ । प्रमुख प्रतिपक्षी दलको नेताको सहभागिताविना संवैधानिक परिषद्को गणपूरक संख्या पुग्दैन र परिषद्ले निर्णय गर्न सक्दैन । 

राजनीतिक दृष्टिले यो पदको के महत्त्व छ ?

संसदीय लोकतन्त्रमा सरकारलाई जवाफदेही बनाउने काम प्रतिपक्षले गर्छ । सरकारका नीति, कार्यक्रम र बजेटमा प्रश्न उठाउने, अविश्वास प्रस्ताव ल्याउने, संसद्‌मा वैकल्पिक दृष्टिकोण राख्ने र कार्यकारीको कमजोरीलाई सार्वजनिक गर्ने मुख्य जिम्मा प्रतिपक्षको हो । यो सबैको नेतृत्व प्रमुख प्रतिपक्षी दलको नेताले गर्छ । राजनीतिक दृष्टिले प्रमुख प्रतिपक्षी दलको नेता 'भावी प्रधानमन्त्री' वा 'छाया सरकारको प्रमुख' मानिन्छ । भोलि सत्ता परिवर्तन भएमा उही नेता नयाँ सरकारको नेतृत्व गर्न तयार हुनुपर्छ । यसर्थ, प्रतिपक्षको नेताले सत्तापक्षका जस्तै प्रतिबद्ध र व्यवस्थित रूपमा काम गर्नुपर्छ । नेपालको हालको राजनीतिक सन्दर्भमा रास्वपाको बहुमतका बाबजुद कांग्रेसले प्रभावकारी प्रतिपक्षको भूमिका खेल्न सके अर्को निर्वाचनमा पुन: उदाउने आधार बनाउन सक्छ ।

प्रमुख प्रतिपक्षी दलको नेताले के-के सुविधा पाउँछ ?

संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ अनुसार प्रमुख प्रतिपक्षी दलको नेताले राज्यबाट पर्याप्त सुविधा पाउँछन् । मासिक पारिश्रमिक ६० हजार ९७० रुपैयाँ, विशेष भत्ता १०००, बैठक भत्ता १०००, सञ्चार सुविधा ३०००, आवास सुविधा २५ हजार ६०८ रुपैयाँ प्रतिमहिना, फर्निचर खर्च १५००० एकमुष्ट र निजी सचिवालय बन्दोबस्त १ हजार ७५० रुपैयाँ प्रतिमहिना पाउँछन् ।

सवारी इन्धनतर्फ प्रतिमहिना २३० लिटर पेट्रोल/डिजेल र ५ लिटर मोबिल पाउँछन् । बिजुली र धारा शुल्कतर्फ २०००, दैनिक भ्रमण भत्ता २५०० प्रतिदिन र अतिथि सत्कार खर्च २००० प्रतिमहिना पाउँछन् । कर्मचारी सुविधाअन्तर्गत एकजना राजपत्रांकित द्वितीय श्रेणीको स्वकीय सचिव, एकजना कम्प्युटर अपरेटर, दुईजना सवारी चालक र दुईजना कार्यालय सहयोगी पाउँछन् ।

सुरक्षातर्फ सहायक निरीक्षकस्तरको एकजना अंगरक्षक, एकजना बिल्लादार गार्ड र १० जना सैनिक जवानसहितको सुरक्षा दस्ता प्राप्त हुन्छ । संसद् सचिवालयले विपक्षी दलको नेताको कार्यालय र कर्मचारी उपलब्ध गराउँछ । सरकारले निवाससमेत उपलब्ध गराउँछ र सरकारी निवास नलिए निजी निवास मर्मतसम्भार खर्च पनि सरकारले बेहोर्छ ।

भारत र बेलायतमा विपक्षको नेताको भूमिका कस्तो छ ?

बेलायतमा संसदीय लोकतन्त्रको सबैभन्दा परिष्कृत रूप पाइन्छ । त्यहाँ प्रमुख प्रतिपक्षी दलको नेतालाई 'लिडर अफ द अपोजिसन' भनिन्छ । उसले एउटा पूरै 'छाया मन्त्रिपरिषद्' गठन गर्छ । प्रत्येक मन्त्रालयको लागि एकजना 'छाया मन्त्री' हुन्छ । जसले त्यो मन्त्रालयको नीति र कार्यक्रमको निगरानी र आलोचना गर्छ ।

विपक्षी नेताले यहाँ पनि सरकारी सुविधा पाउँछन् र उसलाई 'प्रधानमन्त्री-इन-वेटिंग' मानिन्छ । बेलायती परम्परामा प्रधानमन्त्रीले हरेक बुधबार प्रश्नोत्तर सत्रमा विपक्षको नेतासँग सिधा बहस गर्नुपर्छ, जसलाई 'प्राइम मिनिस्टरस् क्वेश्चन्स' भनिन्छ ।

भारतमा पनि बेलायती ढाँचाकै शैलीमा 'नेता प्रतिपक्ष'को पद रहेको छ । लोकसभामा प्रमुख प्रतिपक्षी दलको नेतालाई मन्त्रीस्तरको दर्जा र सुविधा दिइन्छ । सन् २०१४ देखि २०२४ सम्म भने भारतमा विपक्षको एउटै ठूलो दल नभएका कारण नेता प्रतिपक्ष पद रिक्त थियो ।

किनकी भारतमा लोकसभा (यहाँको प्रतिनिधिसभा)को १० प्रतिशत सिट जिते मात्रै प्रतिपक्षको हैसियत प्राप्त गर्छ । कुल ५४३ सदस्यीय भारतीय लोकसभामा २०१४ देखि २०२४ सम्ममा सत्तापक्षबाहेक कुनै दलले १० प्रतिशत सिट एक्लै जितेको थिएनन् । तर, २०२४ को लोकसभा चुनावमा भारतीय कांग्रेसले ९९ सिट जित्यो । अहिले कांग्रेसका नेता राहुल गान्धी प्रतिपक्ष दलका नेताको रूपमा छन् ।

कृष्ण कान्तिपुर टेलिभिजनमा आवद्ध बहाब संसद र अदालती मामिलाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully