आङ्देम्बेलाई पूर्व सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षको समेत समर्थन रहेको छ।
काठमाडौँ — नेपाली कांग्रेसले संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बेलाई अघि सार्ने भएको छ।
महामन्त्री प्रदीप पौडेलले दलको नेतामा उनलाई अघि बढाउने सहमति भएको, तर त्यसको प्रक्रिया पूरा गर्न भने समय लाग्ने कान्तिपुरलाई बताए।
अर्जुननरसिंह केसी, आङ्देम्बे र मोहन आचार्यले दाबी गरेका कारण कांग्रेसले दलको नेता चयन गर्न सकेको थिएन।
आङ्देम्बेलाई पूर्व सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षको समेत समर्थन रहेको छ। उनलाई सर्वसम्मतिमा दलको नेता चयन गर्न उपसभापति विश्वप्रकाश शर्माले पनि सक्रियता देखाएका थिए।
शर्माका अलवा अर्का उपसभापति पुष्पा भुषाल, महामन्त्रीद्वय पौडेल र गुरुराज घिमिरे सर्वसम्मतिबाटै संसदीय दलको नेता चयनका लागि छलफलमा जुटेका थिए ।
उनीहरूले आइतबार दिनभर सभापति गगन थापासहित अन्य शीर्ष नेता र आकांक्षीहरुसँग छलफल गरेका थिए ।
को हुन् आङदेम्बे ?
२०२० सालमा पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ (साविक नवमीडाँडा)मा जन्मेका आङदेम्बे २०३६ सालको जनमत संग्रहमा बहुदलका पक्षमा उभिएका थिए। त्यसपछि भएका विभिन्न आन्दोलनमा सक्रिय रहे ।
उनले नेपाल विद्यार्थी संघ, तरुण दल र कांग्रेसका विभिन्न पदमा रहेर जिम्वेवारी निर्वाह गरिसकेका छन् ।
त्यस्तै २०४६ सालको जनआन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै उनी अग्रपंक्तिका युवा नेताका रूपमा स्थापित भए । सोही आन्दोलनले देशमा बहुदलीय लोकतन्त्र पुनःस्थापना गर्यो, जसमा आङ्देम्बेको सहभागिता उल्लेखनीय रहृयो। आन्दोलनका क्रममा उनी पक्राउ समेत परेका थिए ।
२०४६ देखि २०५२ सालसम्म नेविसंघको केन्द्रीय सदस्यका रूपमा दुई कार्यकाल निर्वाचित हुँदै उनले संगठन निर्माण, कार्यकर्ता परिचालन र लोकतान्त्रिक मूल्यको विस्तारमा महत्वपूर्ण भूमिका खेले । यही अवधिमा उनले नेतृत्व र क्षमता विकास गर्दै पार्टीमा अलग पहिचान बनाउन सफल भए ।
आङ्देम्बे २०५४ सालमा नेपाल तरुण दलको केन्द्रीय उपाध्यक्ष बने । यो जिम्मेवारीले उनलाई कांग्रेसभित्र युवा पुस्ताको प्रभावशाली नेताका रूपमा स्थापित गर्यो । २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनमा राजतन्क्रविरुद्ध सत्रिय सहभागिता जनाउँदै उनी पुनः सडक संघर्षमा समाहित भए । सो क्रममा पनि उनी पक्राउ परे ।
२०७० को दोस्रो संविधानसभा निर्वाचनमा पाँचथर क्षेत्र नं २ बाट संविधानसभा सदस्यमा निर्वाचित भए । संसदीय राजनीतिमा उनको त्यो प्रवेश पहिलो थियो । त्यसअघि २०५६ सालको प्रतिनिधिसभा सदस्यमा पाँचथर–२ बाट उम्मेदवार बनेका उनी एमालेका डम्बरसिंह सम्वाहाम्फेसँग पराजित भएका थिए ।
संविधानसभा सदस्यमा निर्वाचित भएपछि उनले संविधानसभा अन्तर्गत उद्योग, वाणिज्य तथा उपभोक्ता हकहित समितिको सभापतिको जिम्वेवारीमा रहेर आर्थिक नीति, व्यापार व्यवस्था र उपभोक्ता अधिकारका विषयमा नेतृत्वदायी भूमिका सम्हाले ।
२०७८ मा सम्पन्न कांग्रेसको १४औं महाधिवेशनबाट आदिवासी जनजातितर्फ केन्द्रीय सह–महामन्त्रीमा निर्वाचित हुँदै उनी पार्टीको शीर्ष नेतृत्वमा पुगे ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ चुनाव लड्दा पुनः एमालेका वसन्तकुमार नेम्वाङसँग ४६ मतको झिनो अन्तरले पराजित भए । यसपटक कांग्रेसले उनलाई आदिवासी जनजाति कोटाबाट समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभा सदस्यको जिम्मेवारीमा पुर्याएको हो।
