भीष्मराज बने कांग्रेस संसदीय दलको नेता

यसअघि मोहन आचार्य र अर्जुननरसिंह केसीको नामसमेत चर्चामा रहे पनि अन्तिममा आङ्देम्बेको नाममा सहमति जुटेको हो ।

वैशाख १४, २०८३

कुलचन्द्र न्यौपाने

Bhishma Raj becomes leader of the Nepali Congress parliamentary party

काठमाडौँ — कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे निर्विरोध चयन भएका छन् । सोमबार कांग्रेस संसदीय दलको बैठकले आङ्देम्बेलाई दलको नेताका रूपमा चयन गरेको हो । 

त्यसअघि पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय दलको नेताका लागि आङ्देम्बेको नाम सर्वसम्मत रूपमा प्रस्ताव गरेको प्रवक्ता देवराज चालिसेले बताए  । 

यसअघि मोहन आचार्य र अर्जुननरसिंह केसीको नामसमेत चर्चामा रहे पनि अन्तिममा आङ्देम्बेको नाममा सहमति जुटेको हो । 

Bhishma Raj becomes leader of the Nepali Congress parliamentary party

केसी, आङ्देम्बे र मोहन आचार्यले दाबी गरेका कारण कांग्रेसले दलको नेता चयन गर्न सकेको थिएन। आङ्देम्बेलाई पूर्व सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षको समेत समर्थन रहेको छ। उनलाई सर्वसम्मतिमा दलको नेता चयन गर्न उपसभापति विश्वप्रकाश शर्माले पनि सक्रियता देखाएका थिए। शर्माका अलवा अर्का उपसभापति पुष्पा भुषाल, महामन्त्रीद्वय पौडेल र गुरुराज घिमिरे सर्वसम्मतिबाटै संसदीय दलको नेता चयनका लागि छलफलमा जुटेका थिए ।

को हुन् आङदेम्बे ?

२०२० सालमा पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ (साविक नवमीडाँडा)मा जन्मेका आङदेम्बे २०३६ सालको जनमत संग्रहमा बहुदलका पक्षमा उभिएका थिए। त्यसपछि भएका विभिन्न आन्दोलनमा सक्रिय रहे । उनले नेपाल विद्यार्थी संघ, तरुण दल र कांग्रेसका विभिन्न पदमा रहेर जिम्वेवारी निर्वाह गरिसकेका छन् । 

त्यस्तै  २०४६ सालको जनआन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै उनी अग्रपंक्तिका युवा नेताका रूपमा स्थापित भए । सोही आन्दोलनले देशमा बहुदलीय लोकतन्त्र पुनःस्थापना गर्‍यो, जसमा आङ्देम्बेको सहभागिता उल्लेखनीय रहृयो। आन्दोलनका क्रममा उनी पक्राउ समेत परेका थिए ।

Bhishma Raj becomes leader of the Nepali Congress parliamentary party

२०४६ देखि २०५२ सालसम्म नेविसंघको केन्द्रीय सदस्यका रूपमा दुई कार्यकाल निर्वाचित हुँदै उनले संगठन निर्माण, कार्यकर्ता परिचालन र लोकतान्त्रिक मूल्यको विस्तारमा महत्वपूर्ण भूमिका खेले । यही अवधिमा उनले नेतृत्व र क्षमता विकास गर्दै पार्टीमा अलग पहिचान बनाउन सफल भए ।

आङ्देम्बे २०५४ सालमा नेपाल तरुण दलको केन्द्रीय उपाध्यक्ष बने । यो जिम्मेवारीले उनलाई कांग्रेसभित्र युवा पुस्ताको प्रभावशाली नेताका रूपमा स्थापित गर्‍यो । २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनमा राजतन्क्रविरुद्ध सत्रिय सहभागिता जनाउँदै उनी पुनः सडक संघर्षमा समाहित भए । सो क्रममा पनि उनी पक्राउ परे ।  

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा पाँचथर क्षेत्र नं २ बाट संविधानसभा सदस्यमा निर्वाचित भए । संसदीय राजनीतिमा उनको त्यो प्रवेश पहिलो थियो । त्यसअघि २०५६ सालको प्रतिनिधिसभा सदस्यमा पाँचथर–२ बाट उम्मेदवार बनेका उनी एमालेका डम्बरसिंह सम्वाहाम्फेसँग पराजित भएका थिए ।

संविधानसभा सदस्यमा निर्वाचित भएपछि उनले संविधानसभा अन्तर्गत उद्योग, वाणिज्य तथा उपभोक्ता हकहित समितिको सभापतिको जिम्मेवारीमा रहेर आर्थिक नीति, व्यापार व्यवस्था र उपभोक्ता अधिकारका विषयमा नेतृत्वदायी भूमिका सम्हाले ।

कुलचन्द्र उनी कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदिय मामिला र दलहरुको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully