सर्वसम्मति बनाउने कसरतमा पार्टीका उपसभापतिद्वय विश्वप्रकाश शर्मा, पुष्पा भुषाल, महामन्त्रीद्वय पौडेल र गुरुराज घिमिरे जुटेका छन् ।
What you should know
काठमाडौं — कांग्रेसले सर्वसम्मतिबाटै संसदीय दलको नेता चयन गर्ने भएको छ । महामन्त्री प्रदीप पौडेलले सोमबार जसरी पनि दलको नेता चयन हुने बताए । त्यसका लागि बिहान ११ बजे केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको छ ।
सर्वसम्मति बनाउने कसरतमा पार्टीका उपसभापतिद्वय विश्वप्रकाश शर्मा, पुष्पा भुषाल, महामन्त्रीद्वय पौडेल र गुरुराज घिमिरे जुटेका छन् । उनीहरूले दिनभर सभापति गगन थापासहित अन्य शीर्ष नेता र आकांक्षीहरुसँग छलफल गरेका थिए ।
संसदीय दलका नेताका लागि अर्जुननरसिंह केसी, भीष्मराज आङदेम्बे र मोहन आचार्य मुख्य प्रतिस्पर्धीको चर्चामा थिए । केसी र आङदेम्बे दुवै समानुपातिबाट निर्वाचित सांसद हुन् भने आचार्य रसुवाबाट निर्वाचित सांसद हुन् । आचार्य निर्माण व्यवसायी समेत हुन् ।
सभापति गगन थापाले नचाहेपछि केसी प्रतिस्पर्धाबाट पछि हटेका छन् । केसी थापाका ससुरा हुन् । केसीलाई दलको नेता बनाउँदा राजनीतिक रुपमा आफूमाथि प्रश्न उठ्ने भन्दै थापाले प्रत्यक्ष निर्वाचितलाई प्राथमकितामा राखेका छन् । उपसभापति शर्माले भने पार्टीभित्रको बृहत् एकतालाई समेत केन्द्रमा राखेर आङदेम्बेको नाम अघि सार्दै आएका छन् ।
सर्वसम्मति जुटाउन सक्रिय पदाधिकारीहरूसँग केसीले अब आफू दलको नेताको प्रतिस्पर्धामा नरहेको बताएका हुन् । आफू पछि हटे पनि उनले युवामध्येबाट दैलेख–२ बाट निर्वाचित सांसद बासना थापालाई दलको नेता बनाउनुपर्ने प्रस्ताव अघि सारेका छन् ।
पदाधिकारीहरू नै जनप्रियवादी देखिएपछि आफूले थापाको नाम अघि सारेको केसीले बताए । ‘नेतृत्व र पदाधिकारीहरू व्यवहारिकता, यथार्थता, परिणाममुखीभन्दा जनप्रिय देखिन थालेपछि मैले नै युवाबाट, महिला पनि भएको, प्रत्यक्ष निर्वाचित र दुर्गम क्षेत्रको समेत भएका नाताले बासना थापालाई दलको नेता बनाऔं भनेर भनेको हुँ,' केसीले भने, ‘युवाहरूमध्येबाटै दुई पटक निर्वाचन जितेको योगेश गौचन थकाली अर्को विकल्प छन् । नभए मधेश प्रदेशबाट कसैलाई बनाउन सकिन्छ ।’
कुनै मापदण्ड बनाएर सर्वसम्मति कायम नगरिए आम रुपमा स्वीकार्य हुन नसक्ने केसीको भनाइ थियो । सभापति थापाले जसरी पनि सर्वसम्मतिबाटै नेता चयन हुनुपर्ने बताएका छन् । ‘पछिल्लोपटक उहाँ कसलाई दलको नेता बनाउने भन्नेमा निरपेक्ष देखिनु भएको छ । तर, जसरी पनि सर्वसम्मति कायम हुनुपर्छ भन्नेमा हुनुहुन्छ,’ एक पदाधिकारीले भने ।
