मुख्यमन्त्री बानियाँको राजनीतिक सल्लाहकारमा खनाल नियुक्त

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख राजनीतिक सल्लाहकार पदमा दामोदर खनाल नियुक्त भएका छन् ।

वैशाख १०, २०८३

सुवास विडारी

Khanal appointed as political advisor to Chief Minister Baniya

मकवानपुर — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख राजनीतिक सल्लाहकार पदमा दामोदर खनाल नियुक्त भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद्को वैठकले रिक्त रहेको प्रमुख राजनीतिक सल्लाहकार पदमा खनाललाई नियुक्त गरिएको हो । उनी कांग्रेस मकवानपुर क्षेत्र नम्बर–१ को सभापति हुन् । उनी बकैया गाउँपालिकाका पूर्वप्रमुखसमेत हुन् । यसअघिका सल्लाहकार तथा कांग्रेस मकवानपुर सभापति बुद्ध लामा फागुन २१ मा सम्पन्न प्रतिनिधिसभाका निर्वाचनमा उम्मेदवार भएपछि प्रमुख सल्लाहकार पद रिक्त रहेको थियो ।

बैठकले कार्यसम्पादन तथा मूल्यांकन सम्बन्धमा भएको निर्णय प्रमाणित गर्ने, समस्याग्रस्त सहकारीको समस्या समाधान समितिका पदाधिकारीले दिएको राजीनामा स्वीकृत गर्ने, गरिवी निवारण नीति स्वीकृत र प्रदेशमा रहेको सूचना प्रतिवेदन समितिको अध्यक्षमा कृष्णराज अधिकारी, धादिङ र अशोक श्रेष्ठ, मकवानपुरलाई नियुक्त गरेको छ ।

सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङका अनुसार स्थानीय तहलाई आगामी आर्थिक वर्षमा प्रदान गर्ने वित्तीय समानीकरण अनुदान बैठकले स्वीकृत गरेको छ ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully