प्रतिनिधिसभाको नयाँ नियमावलीमा बैठक कक्षमा फोन मौन अवस्था(साइलेन्ट) राख्नुपर्ने,फोनमा कुरा गर्न,फोटो खिच्न तथा अडियो र भिडियो रेकर्ड गर्न नहुने उल्लेख छ ।
काठमाडौँ — अब संसद् बैठकमा मोबाइल चलाउन नपाइने भएको छ । प्रतिनिधिसभा सञ्चालन नियमावलीको मस्यौदामा संसद् बैठकमा मोबाइल फोन प्रयोगबारे कडाइ गर्ने व्यवस्था राख्न प्रस्ताव गरेको छ।
रास्वपा सांसद गणेश पराजुलीको नेतृत्वमा २३ चैतमा मस्यौदा समिति गठन भएको थियो । उक्त समितिले तयार पारेको प्रतिवेदनमा संसद् बैठक सञ्चालनका लागि नियम २० मा बैठकमा भाग लिने सांसदले पालना गर्नुपर्ने नियमका बारेमा ११ वटा कुरा प्रस्ताव गरिएको छ । उपनियम 'ट' मा बैठक कक्षमा फोन मौन अवस्था(साइलेन्ट) राख्नुपर्ने,फोनमा कुरा गर्न,फोटो खिच्न तथा अडियो र भिडियो रेकर्ड गर्न नहुने उल्लेख छ । सभामुख बैठक कक्षमा प्रवेश गर्दा सबैले उठेर सम्मान प्रकट गर्नुपर्ने, सभामुखले बैठकप्रति सम्मान प्रकट गरी आफ्नो आसन ग्रहण गर्नुपर्ने समेत उल्लेख छ ।
त्यस्तै बैठक स्थगित भई सभामुख बैठकबाट बाहिर निस्केपछि मात्र सदस्यले बैठक कक्ष छाड्नुपर्ने, बैठकमा भाग लिने सदस्यले बोल्दा सभामुखलाई सम्बोधन गरेर बोल्नुपर्ने र सभामुखले अन्यथा आदेश दिएमा बाहेक तोकिएको स्थानमा उभिएर बोल्नुपर्ने उल्लेख छ ।
सभामुखले बैठकलाई सम्बोधन गरिरहेको समयमा कुनै पनि सदस्यले स्थान छाड्न नहुने र सभामुखले बोलेको कुरा ध्यानपूर्वक सुन्नुपर्ने र सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिड्न नहुने उल्लेख छ। सभामुखको आसनतर्फ पिठ्यूँ फर्काएर बस्न र उभिन नहुने र कुनै सदस्यले बोलिरहेको समयमा बाधा पुग्ने वा बैठकको मर्यादा भङ्ग हुने वा अव्यवस्था उत्पन्न हुने कुनै काम गर्न नहुने उल्लेख छ ।
बैठकको कार्यसँग प्रत्यक्ष रूपले सम्बन्धित विषय बाहेक अन्य विषयको पुस्तक, समाचारपत्र वा अन्य कागजपत्र पढ्न नहुने प्रस्तावित मस्यौदामा उल्लेख छ।
समितिमा ओजस्वी शेरचन, खगेन्द्र सुनार, खुस्बु ओली, गजला समीम मिकरानी, तपेश्वर यादव, ध्रुवराज राई, निशा डाागी, निश्कल राई, बलावती शर्मा, मधु चौलागाईं, यज्ञमणि न्यौपाने, रेखा कुमारी यदाव र सुलभ खरेल सदस्य छन् ।
