रास्वपा महामन्त्रीमा भूपदेव शाह, सचिवालय सदस्यमा सागर ढकाल र सरिताश्री ज्ञवाली चयन
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीमा भूपदेव शाह चयन भएका छन् । रास्वपा केन्द्रीय समितिको सोमबारको बैठकले शाहलाई महामन्त्रीमा चयन गरेको हो ।
रास्वपा प्रवक्ता मनिष झाकाअनुसार पार्टी सभापति रवि लामिछानेले शाहलाई महामन्त्रीको जिम्मेवारी दिने प्रस्ताव केन्द्रीय समिति बैठकमा राखेका थिए । झाले भने, 'महामन्त्रीमा भुपदेव शाह, सचिवालय सदस्यमा सागर ढकाल र सरिता श्री ज्ञवालीलाई सभापतिबाट प्रस्तावित भयो र केन्द्रीय समितिबाट अनुमोदन भयो ।'
रास्वपाको महामन्त्रीमा कबिन्द्र बुर्लाकोटी कार्यरत छन् । रास्वपामा दुई महामन्त्री बनाउने भनिएकोमा दोस्रो महामन्त्रीमा शाहलाई ल्याइएको हो । बुर्लाकोटीलाई रास्वपा संसदीय दलमा मुख्य सचेतकको जिम्मेवारी दिइएको छ ।
रास्वपा वरिष्ठ नेता तथा प्रधानमन्त्री वालेन्द्र शाहसँगै भूपदेव शाह रास्वपामा प्रवेश गरेका थिए । उनले यसअघि केन्द्रीय सदस्यको जिम्मेवारी सम्हाल्दै आएका थिए । उनलाई सहमहामन्त्री बनाउने र सुनिल लम्साललाई महामन्त्रीको जिम्मेवारी दिने समझदारी बनेको थियो ।
लम्साल भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेपछि शाहलाई महामन्त्री बनाइएको हो ।
प्रतिनिधिसभा निर्वाचनमा शाह अछाम २ बाट उम्मेदवार थिए । उनी त्यहाँ पराजित भएका थिए । वालेन्द्र शाह प्रधानमन्त्री बनेपछि भूपदेवलाई सचिवालयमा लैजाने तयारी भएपनि उनलाई पार्टीमा क्रियाशील बनाउने योजनासहित महामन्त्रीमा पठाइएको हो ।
यस्तो हुनेछ रास्वपा सचिवालय
रवि लामिछाने- सभापति
स्वर्णिम वाग्ले- उप सभापति
कविन्द्र वुर्लाकोटी- महामन्त्री
भुपदेव साह- महामन्त्री
विपिन आचार्य- सहमहामन्त्री
लिमा अधिकारी- कोषाध्यक्ष
वसु माया तामाङ- सहकोषाध्यक्ष्य
मनिष झा- प्रवक्ता
सचिवालय सदस्यहरू
गणेश पराजुली
दिपक बोहरा
बिराजभक्त श्रेष्ठ
शिशिर खनाल
सोभिता गौतम
हरि ढकाल
सागर ढकाल
सरिताश्री ज्ञवाली
