६० वर्ष नाघेकाहरू आराम गरेर बस्दा पनि हुन्छ : कांग्रेस नेता घिमिरे

तत्कालीन कार्यबाहक सभापति पूर्णबादुर खड्काले आइतबार बोलाएको इतर समूहको बैठकमा घिमिरेले मञ्चमा रहेका नेताहरुतर्फ इंकित गर्दै एकताको पक्षमा नजाने हो भने राजनीतिबाट अवकाश लिएर बस्दा राम्रो हुने बताएका हुन् ।

वैशाख ६, २०८३

कान्तिपुर संवाददाता

People over 60 years of age can also get sick by resting: Congress leader Ghimire

काठमाडौं — कांग्रेस नेता श्याम घिमिरेले ६० वर्ष उमेर पार भएकाहरू नेताहरूले राजनीतिबाट अवकाश लिएर बस्दा राम्रो हुने सुझाव दिएका छन् ।

तत्कालीन कार्यबाहक सभापति पूर्णबादुर खड्काले आइतबार बोलाएको इतर समूहको बैठकमा घिमिरेले मञ्चमा रहेका नेताहरूतर्फ इंकित गर्दै एकताको पक्षमा नजाने हो भने राजनीतिबाट अवकाश लिएर बस्दा राम्रो हुने बताएका हुन् ।

‘अहिलेको अवस्थामा हामीसँग तीनवटा विकल्प मात्रै छ । पार्टी खोल्ने, मिल्ने र अवकाशमा जाने,’ मञ्चमा रहेका तत्कालीन कार्यबाहक सभापति खड्का, पूर्वपदाधिकारीहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधितर्फ संकेत गर्दै उनले भने,‘पहिलो विकल्पमा जानै हुन्न । पार्टी विभाजन गर्ने कुरा गर्नै हुन्न । मिलेर जानुको विकल्प छैन । मिल्न सकिँदैन भने तपाईंहरू ६० नाघिसक्नु भएको छ, राजनीति छोडेर चुप लागेर बस्दा पनि हुन्छ ।’ 

घिमिरेले बैठकमा अधिकांश नेताहरू आफ्नो लाइनमा सहमत भएको बताए । ‘चर्को कुरा गर्नेहरू धेरै कम हुनुहुन्छ, सबैको जोड मिलेर जानुपर्छ भन्नेमा छ,’ बैठकपछि घिमिरेले भने,‘सभापति गगनजीले सबैलाई समेटर लैजान्छु भन्नु भएको छ । उहाँको कुरालाई हामीले विश्वास गरेर एकताको पक्षमा लाग्नुपर्छ भन्नेमा मेरो मुख्य जोड थियो ।’ 

बैठकमा कल्याण गुरुङ, गोविन्दबहादुर शाह, कुन्दन काफ्लेलगायतका केही नेताहरूले भने अहिलेको केन्द्रीय कार्यसमितिमा सामेल हुने वातावरण नभएको भन्दै विकल्प सोच्नुपर्ने धारणा राखेका थिए । बैठकमा बोल्ने क्रम जारी छ ।

कान्तिपुर

Link copied successfully