सुकुम्बासीको उठिबास र विद्यार्थी संगठनमाथिको प्रतिबन्धप्रति नेकपाको आपत्ति

नेकपाले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा यस्तो कदमलाई 'अमानवीय' भन्दै तत्काल रोक्न र पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।

वैशाख ६, २०८३

गंगा बीसी

NCP objects to squatter uprising and ban on student organizations

काठमाडौँ — नेपाली कम्युनिष्ट पार्टीले सरकारले हालै देशका विभिन्न स्थानमा सुकुम्बासी परिवारहरूलाई उचित विकल्पबिना टहरा भत्काउने कार्य गरेको भन्दै गम्भीर आपत्ति जनाएको छ । 

नेकपाले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा यस्तो कदमलाई 'अमानवीय' भन्दै तत्काल रोक्न र पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। विज्ञप्तिमा सुकुम्बासी व्यवस्थापनका नाममा गरिएका गतिविधिले पीडित परिवारलाई बिचल्ली बनाएको र सीमान्तकृत समुदायमा राज्यप्रतिको विश्वास कमजोर हुने खतरा बढेको उल्लेख गरिएको छ। 'समुचित पुनर्वासको व्यवस्था नगरी यस्ता कार्य नगर्न सरकारसमक्ष आग्रह गर्दछौं,' विज्ञप्तिमा भनिएको छ।

यसैबीच, नयाँ सरकार गठनलगत्तै बजारमा महँगी र कालोबजारी बढेको भन्दै नेकपाले तत्काल नियन्त्रण गर्न पनि माग गरेको छ। पार्टीले विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने प्रयासलाई संविधानविपरीत र अस्वीकार्य ठहर गरेको छ। 

पञ्चायती व्यवस्थाको समयमा समेत उपभोग गरिएको संगठित हुने अधिकार संघीय लोकतान्त्रिक गणतन्त्रमा खोस्ने प्रयास भएको भन्दै यसप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ। साथै, ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने प्रयासले संवैधानिक अधिकार तथा अन्तर्राष्ट्रिय सन्धि–सम्झौताको उल्लंघन हुने उल्लेख गरिएको छ।

वर्तमान सरकारप्रति जनताले सुशासन, सामाजिक न्याय र समृद्धिको अपेक्षा गरेको उल्लेख गर्दै पार्टीले सकारात्मक कार्यक्रमहरूलाई स्वागत गरेको जनाएको छ। तर शासन सञ्चालन र संसदीय अभ्यासमा देखिएको पूर्वाग्रही र एकपक्षीय प्रवृत्तिले चिन्ता बढाएको विज्ञप्तिमा उल्लेख छ।

गंगा

Link copied successfully