कांग्रेस विवाद : खड्का पक्षको बैठक सुरु, गएन कोइराला समूह

बिहान बसेको कोइराला समूहको बैठकले पार्टी एकता कायम गर्नुपर्ने निष्कर्ष निकाल्दै खड्काले बोलाएको बैठकमा नजाने निर्णय गरेको थियो ।

वैशाख ६, २०८३

कुलचन्द्र न्यौपाने

Congress dispute: Khadka faction meeting begins, Koirala group does not attend

काठमाडौँ — कांग्रेसका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको बैठक सुरु भएको छ । गल्फुटारस्थित खड्का निवासमा १४ औं महाधिवेशनबाट निर्वाचित भएका संस्थापनइतर पक्षका नेताहरु सहभागी छन् ।

सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई मान्यता दिने फैसला दिएपछि कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न खड्काले आफ्नो समूहको बैठक बोलाएका हुन् ।

बैठकको सुरुमै खड्काले धारणा राखेका छन् । उनले पार्टीको आन्तरिक अवस्थाका बारेमा जानकारी दिँदै आगामी दिनमा कसरी अघि बढ्ने भन्नेबारेमा सुझाव मागेका छन् ।

गएन कोइराला समूह

खड्काले नेता शेखर कोइराला र शशांक कोइरालालाई पनि बोलाएका थिए । कोइराला दाजुभाइ र उनीहरुको समूहमा रहेका नेता भने खड्काले बोलाएको बैठकमा गएनन् । आफूहरु पार्टी एकताको पक्षमा रहने र त्यसका लागि पहल गर्न उनीहरुले सभापति गगन थापालाई आग्रह गर्दै आएका छन् ।

विशालनगरस्थित सम्पर्क कार्यालयमा बिहान बसेको कोइराला समूहको बैठकले पार्टी एकता कायम गर्नुपर्ने निष्कर्ष निकाल्दै खड्काले बोलाएको बैठकमा नजाने निर्णय गरेको थियो । शेखर विराटनगरमा रहेकाले तत्कालीन उपसभापति धनराज गुरुङले समूहको अनौपचारिक बैठक डाकेका थिए। उक्त बैठकमा शशांक समेत सहभागी थिए ।

कोइराला समूह विशेष महाधिवेशनको पक्षमा थिएन । विशेष महाधिवेशनबाट आएका सभापति गगन थापाको हस्ताक्षरबाट चुनाव लडिसकेको र थापा नेतृत्वकै कार्यसमितिलाई अदालतले मान्यता दिइसकेको पृष्ठभूमिमा पार्टी एकताबाहेक अर्को विकल्प नभएको निष्कर्ष कोइराला समूहको बैठकले निकालेको हो ।

कुलचन्द्र उनी कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदिय मामिला र दलहरुको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully