मुख्यमन्त्रीहरूले प्रधानमन्त्रीसँग मागे प्रदेशको अधिकार

सरकारी विज्ञापन सरकारी मिडियालाई मात्रै दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट गरिएको पत्राचारप्रति पनि मुख्यमन्त्रीहरूको गुनासो थियो । यसले प्रदेशको अधिकारलाई खुम्च्याउने उनीहरूको भनाइ थियो ।

वैशाख ४, २०८३

राजेश मिश्र

Chief Ministers demand provincial rights from the Prime Minister

What you should know

काठमाडौँ — मुख्यमन्त्रीहरूले प्रधानमन्त्री वालेन्द्र शाहसँग संविधानले प्रदेशलाई दिएको अधिकार सुनिश्चित गरिदिन माग गरेका छन् । संघ सरकारले प्रदेशलाई केवल प्रशासनिक संरचनामा सीमित राख्न खोजेको भन्दै उनीहरूले असन्तुष्टिसमेत व्यक्त गरेका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार प्रधानमन्त्री शाहले करिब तीन घण्टा मुख्यमन्त्रीहरूको अपेक्षा तथा गुनासा सुनेका हुन् । प्रधानमन्त्री भएपछि शाहले मुख्यमन्त्रीहरूसँग गरेको यो पहिलो छलफल हो । छलफलमा प्रधानमन्त्री शाहले प्रदेशलाई बलियो बनाएर जाने आश्वस्त पनि पारेका छन् । 

गत ५ माघमा जनकपुरमा आफ्नो पहिलो चुनावी सभालाई मैथिलीमा सम्बोधन गर्दै शाहले प्रदेशलाई बलियो बनाउनुपर्ने बताएका थिए । ‘प्रदेश आरो बलगर बनाबेके है’ अर्थात् प्रदेशलाई थप बलियो बनाउनुपर्छ भन्ने उनको भनाइ थियो । उक्त अभिव्यक्तिले संघीयता र प्रदेश संरचनालाई लिएर उनको धारणा धेरै हदसम्म स्पष्ट भएको थियो ।

Chief Ministers demand provincial rights from the Prime Ministerयद्यपि, २०७९ को चुनावमा एकै दिन भएको निर्वाचनमा प्रतिनिधिसभामा मत हाले पनि प्रदेशतर्फ मत नहालेका कारण प्रदेशका विषयमा उनको दृष्टिकोणप्रति एक प्रकारको संशय थियो । मनमा त्यस्तैखाले संशय राख्दै प्रधानमन्त्रीलाई भेट्न पुगेका मुख्यमन्त्रीरू संघीयता र प्रदेशप्रति प्रधानमन्त्रीमा रहेको स्पष्टता तथा सकारात्मक भावले खुसी भएर बाहिरिएका छन् ।

 प्रतिनिधिसभाका सबै सांसदसँग छलफल टुंग्याएपछि प्रधानमन्त्रीले मुख्यमन्त्रीहरूसँग छलफल गरेका हुन् । ‘प्रोटोकल’ अनुसार पालैपालो बोल्ने र अन्त्यमा प्रधानमन्त्रीले बोल्ने परम्परागत शैलीभन्दा भिन्न प्रधानमन्त्री शाह मुख्यमन्त्रीहरूसँग ‘इन्ट्र्याक्टिभ’ शैलीमा प्रस्तुत भएका थिए । ‘प्रदेशसम्बन्धी शंका, उपशंका वा द्विविधा प्रधानमन्त्रीमा केही देखिएन । प्रदेशलाई बलियो बनाउनुपर्छ भन्नेमा उहाँलाई स्पष्ट पायौं,’ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भने, ‘समग्रमा उपलब्धिमूलक र स्पष्ट कुराकानी भएको छ । हामीले उठाएका कुरा सुन्ने मात्र नभई छिट्टै समाधान गरेर जाने भन्नुभएको छ । आशावादी भएका छौं ।’ 

पारिवारिक कारणले कोशीका मुख्यमन्त्री हिक्मतबहादुर कार्की र उपचारका लागि दिल्लीमा रहेका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह बैठकमा अनुपस्थित थिए । मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका मुख्यमन्त्रीहरूले प्रदेशले भोगिरहेका अभाव तथा चुनौतीबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । 

संविधानले अधिकार दिए पनि संघले कानुन नबनाएका कारण प्रदेशको प्रभावकारिता नदेखिएको मुख्यमन्त्रीहरूको साझा भनाइ थियो । प्रदेश संरचना अभ्यासमा गएको ९ वर्ष भएको छ । अर्को वर्ष चुनावसँगै प्रदेशले ५/५ वर्षको दुई कार्यकाल पूरा गर्दै छ । तर, यति समय बितिसक्दा पनि संविधानले दिएको एकल अधिकार पनि प्रदेशले प्रयोग गर्न नपाएकोतर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको मुख्यमन्त्री पाण्डेले बताए । 

प्रदेशलाई संविधानले दिएको अधिकारअनुसार संघबाट बजेटको बाँडफाँट नगरिएकामा पनि मुख्यमन्त्रीहरूको गुनासो थियो । उल्टै प्रदेशले पाउँदै आएको समपूरक तथा विशेष अनुदान घटाउँदै लगिएको भन्दै त्यसलाई सुधार गर्न उनीहरूले आग्रह गरे । संघ सरकारले बजेट ल्याउने तयारी गरिरहेका बेला प्रदेशमा दिइने अनुदान बढाउन आग्रह गरिएको पाण्डेले बताए । प्रधानमन्त्री शाहले बजेट वितरणमा प्रदेशलाई अन्याय नहुने आश्वस्त पारेका थिए ।

प्रदेश प्रहरी र प्रदेशभित्रको शान्तिसुरक्षा प्रदेशको एकल अधिकार भए पनि त्यसमा प्रदेशको कुनै भूमिका हुन नसकेको विषय सबै मुख्यमन्त्रीले उठाएका थिए । विगतमा कुनै पनि संघ सरकारले प्रहरी समायोजनतर्फ काम नगरेको भन्दै यथाशीघ्र कार्यान्वयन गर्न उनीहरूले आग्रह गरे । ‘प्रदेशभित्रको शान्तिसुरक्षाको जिम्मेवारी प्रदेश सरकारको हो । तर, प्रदेशलाई प्रहरी दिइएको छैन । प्रहरी समायोजन ऐन ल्याएको वर्षौं भइसक्यो । तर, त्यसलाई कार्यान्वयनमा लग्न संघले चाहेको छैन,’ मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले भने । संविधानले दिएको अधिकार प्रयोगमा प्रदेशलाई बाधा अड्चन वा अवरोध खडा गरिन नहुनेतर्फ आफूहरूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको उनले कान्तिपुरलाई बताए । 

Chief Ministers demand provincial rights from the Prime Ministerप्रदेशमा कर्मचारीको अभाव र खटनपटनमा समस्या, जग्गा प्राप्तिमा प्रदेशलाई रहेका समस्या जस्ता विषय पनि मुख्यमन्त्रीहरूले उठाएका थिए । मुख्यमन्त्रीहरूले बोल्दै गर्दा बीचबीचमा प्रधानमन्त्री शाहले थप स्पष्ट हुन खोज्नुका साथै आफ्ना धारणासमेत राखेका थिए । प्रधानमन्त्रीले कर्मचारीसँग स्पष्ट कार्यसम्पादन सम्झौता गरेर काम लिन तथा त्यसमा कडाइ गर्न मुख्यमन्त्रीहरूलाई सुझाव दिएका छन् । 

संविधानमा संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको शासकीय संरचनाको व्यवस्था छ । संविधानले तीन वटै तहलाई राज्यशक्ति प्रयोगको अधिकार दिएको छ । संविधानमै तीनै तहका एकल र साझा अधिकारका सूची छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले २०७३ सालमै त्यस अधिकारको विस्तृतीकरण गरेर कुन तहले कुन काम गर्ने स्पष्ट गरेको छ । तर, कानुन नबनाइँदा अधिकारलाई लिएर तीन तहबीच बेलाबेला टकरावसमेत उत्पन्न भएका छन् । संविधानले तोकेको अधिकारअनुसार कुन तहले के कार्य गर्ने त्यसको विस्तृतीकरणसम्बन्धी कानुनी प्रबन्धका विषयमा समेत मुख्यमन्त्रीले आग्रह गरेका छन् । 

संविधानले संघ र प्रदेश सरकारबीच समन्वयका लागि प्रधानमन्त्रीको अध्यक्षमा अन्तरप्रदेश परिषद्को व्यवस्था गरेको छ । प्रधानमन्त्रीले छलफलमा परिषद् बैठक बोलाएर पनि कतिपय विषयलाई औपचारिक तरिकाले टुंग्याइने बताएका छन् । यस्तै, १३ चैतमा प्रधानमन्त्री भएपछि शाहले ल्याएको सयबुँदे शासकीय सुधार कार्ययोजनामा ४५ दिनभित्र निजामती सेवासम्बन्धी विधेयक तर्जुमा गरिने उल्लेख छ । 

संघीयता र प्रदेशलाई बलियो बनाउन तत्काल आवश्यक पर्ने निजामती सेवा, शिक्षा, प्रहरी, जग्गा प्राप्ति, वन, राष्ट्रिय निकुञ्ज, सार्वजनिक खरिदसम्बन्धी कानुन निर्माणका लागि प्रधानमन्त्रीलाई आग्रह गरेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बताए । ‘समयमा ऐन नबन्दा संविधानकै कार्यान्वयनमा आइपरेका सवाल र समस्या राखेका छौं,’ उनले भने, ‘केही नयाँ कानुन बनाउनुपर्नेछ । केही भइरहेकै कानुनमा संशोधन आवश्यक छ ।’ सबै विषयमा प्रधानमन्त्रीसँग दोहोरो छलफल भएको उनले बताए । ‘छलफल अत्यन्तै सौहार्दपूर्ण भएको छ । हामी उत्साहित भएका छौं, प्रदेशले भोगिरहेका समस्या छिट्टै समाधान हुनेमा आशावादी छौं,’ उनले भने । 

Chief Ministers demand provincial rights from the Prime Ministerसरकारी विज्ञापन सरकारी मिडियालाई मात्रै दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट गरिएको पत्राचारप्रति पनि मुख्यमन्त्रीहरूको गुनासो थियो । यसले प्रदेशको अधिकारलाई खुम्च्याउने उनीहरूको भनाइ थियो । मुख्यमन्त्रीहरूले आआफ्ना प्रदेशभित्र सञ्चालित संघीय विकासका आयोजनाहरूमा भइरहेको ढिलाइतर्फ पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । 

छलफलमा प्रधानमन्त्रीले संघ र प्रदेश मिलेर राष्ट्र निर्माणमा जुट्नुपर्ने बताएको प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालले जानकारी दिइन् । ‘बजेटमा कसैलाई विभेद नगरिने, राजनीतिक विषय नहेरिने, न्यायोचित र समान ढंगले बजेट वितरण हुने प्रधानमन्त्रीले भन्नुभएको छ,’ दाहालले भनिन् ।

राजेश दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय मिश्र कान्तिपुर दैनिकका संवाददाता हुन्। उनी राजनीति, कुटनीति, निर्वाचन प्रणाली र संघीयताका बिषयमा लेख्छन् ।

Link copied successfully