खड्कालाई स्पष्टीकरण सोध्ने निर्णयले पार्टी एकतामा बाधा पुर्‍याउँछ : कोइराला

बिहीबार जारी विज्ञप्तिमा कोइरालाले नेपाली कांग्रेस अहिले इतिहासकै कमजोर अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै आन्तरिक विवादले पार्टी मात्र होइन, समग्र लोकतन्त्र र व्यवस्थामै असर पार्ने जोखिम बढाएको बताए ।

वैशाख ३, २०८३

कुलचन्द्र न्यौपाने

Decision to ask Khadka for clarification will hinder party unity: Koirala

काठमाडौँ — कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधिएको स्पष्टीकरणले पार्टीभित्रको बृहत् एकतामा बाधा पुर्‍याउने बताएका छन् । अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा यस्तो निर्णयले पार्टी जीवन र समग्र लोकतान्त्रिक प्रक्रियामै नकारात्मक असर पार्न सक्ने उनले उल्लेख गरेका छन् ।

बिहीबार जारी विज्ञप्तिमा कोइरालाले नेपाली कांग्रेस अहिले इतिहासकै कमजोर अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै आन्तरिक विवादले पार्टी मात्र होइन, समग्र लोकतन्त्र र व्यवस्थामै असर पार्ने जोखिम बढाएको बताए । यस्तो संवेदनशील घडीमा तल्लो तहदेखि शीर्ष नेतृत्वसम्म एकता अपरिहार्य भएको उनको जोड छ । कांग्रेसको केन्द्रीय अनुशासन समितिले बुधबार खडकालाई सात दिनको स्पष्टीकरण सोध्ने निर्णय लिएको छ ।

कोइरालाले पार्टीभित्र मतभेद हुनु स्वाभाविक भए पनि त्यसलाई व्यवस्थापन गर्ने तरिका महत्त्वपूर्ण हुने बताएका छन् । विगतमा भएका आन्दोलन र परिवर्तनका क्रममा पार्टीले समयानुकूल रूपान्तरणको आवश्यक महसुस गरेको भए पनि अहिले देखिएको गतिविधिले कांग्रेसलाई थप कमजोर बनाउने खतरा रहेको उनले संकेत गरेका छन् ।

कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद अदालतमा विचाराधीन रहेको स्मरण गराउँदै यस्तो अवस्थामा खड्कालाई सोधिएको स्पष्टीकरणले पार्टी एकतामा सकारात्मक योगदान नपुर्‍याउने कोइरालाको भनाइ छ । उनले आन्तरिक गतिविधि र अनुशासनात्मक कदमहरूका कारण पार्टी जीवन थप संकटतर्फ धकेलिन सक्ने बताएका छन् । 

१५ औं महाधिवेशनको तयारीका लागि क्रियाशील सदस्यताको नवीकरण भइसकेको अवस्थामा अहिले सदस्यता अद्यावधिकको नाममा गरिने फेरबदलले पार्टीभित्रको आन्तरिक लोकतन्त्र, निष्पक्षता र पारदर्शितामा असर पार्ने उनको भनाइ छ । 

कोइरालाले कांग्रेस अझै वैचारिक र संरचनात्मक रूपमा विभाजित नभएको दाबी गर्दै आमकार्यकर्तामा एकताको भावना कायम राख्न अपिल गरेका छन् । उनले पार्टीलाई एकताबद्ध बनाउँदै लोकतान्त्रिक मूल्य र मान्यताको रक्षा गर्न सबै तहका नेता–कार्यकर्तालाई आह्वान गरेका छन् ।

कुलचन्द्र उनी कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदिय मामिला र दलहरुको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully