मन्त्री बन्न नपाएका कांग्रेस सांसदले लिए राजीनामा फिर्ता
पोखरा — गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् हेरफेर हुँदा मन्त्रीको सूचीमा आफ्नो नाम नसमेटिएको झोंकमा बुधबार राजीनामा दिएका प्रदेशसभा सदस्य दोर्णकुमार कुँवरले बिहीबार राजीनामा फिर्ता लिएका छन् । बुधबार मन्त्रिपरिषद् हेरफेरसँगै सभामुख कृष्णप्रसाद धिताललाई इमेलमार्फत राजीनामा पठाएका सांसद कुँवरले बिहीबार फोन गरी राजीनामा फिर्ता लिएको बताएका हुन् ।
बागलुङ २(२) बाट निर्वाचित कांग्रेस सांसद कुँवर मन्त्रीका आकांक्षी थिए । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बागलुङ २(१) बाट निर्वाचित कांग्रेस सांसद जितबहादुर शेरचनलाई आर्थिक मामिला मन्त्री नियुक्त गरेपछि कुँवर रुष्ट थिए । उनले सभामुख र संसद् सचिवालयका कर्मचारीलाई इमेलमार्फत राजीनामा पठाएका थिए । ‘हामीलाई स्वयं सांसद उपस्थित भएर राजीनामाको हार्डकपी उपलब्ध नभएकोले संसद् सचिवालयमा दर्ता भएको थिएन,’ सभामुख धिताले भने, ‘आज उहाँले नै फोन गरेर राजीनामा फिर्ता लिने जानकारी गराउनुभयो ।’
मुख्यमन्त्री पाण्डले बुधबार मन्त्रीको सेट नै परिवर्तन गरेका थिए । सत्ता गठबन्धनमा रहेका एमाले र कांग्रेसबाट ४-४ जना मन्त्री थपिएसँगै मन्त्रिपरिषद् ९ सदस्यीय बनेको छ । एमालेबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री बनेका छन् ।
यशोदा रिमाल उद्योग तथा पर्यटन, भीम कार्की कृषि, भूमि व्यवस्था तथा सहकारी र लक्ष्मण पाण्डे स्वास्थ्य मन्त्री नियुक्त भएका छन् । कांग्रेसबाट जित शेरचन अर्थ मन्त्री बनेका छन् । नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी, रेखा गुरुङ सामाजिक विकास, युवा तथा खेलकुद तथा नम्डु गुरुङ वन तथा वातावरण मन्त्री नियुक्त भएका छन् ।
