बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारसँग सहकार्य र निगरानी दुवैलाई सन्तुलित रूपमा अघि बढाउने निष्कर्ष निकालेको हो ।
काठमाडौँ — कांग्रेसले संसद्मा प्रमुख प्रतिपक्षको भूमिकालाई प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ ।
बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारसँग सहकार्य र निगरानी दुवैलाई सन्तुलित रूपमा अघि बढाउने निष्कर्ष निकालेको हो । उक्त पार्टीले लोकतान्त्रिक मूल्य–मान्यतामा कुनै सम्झौता नगर्ने र त्यही आधारमा संसद्मा आफ्नो भूमिका निर्वाह गर्ने जनाएको छ । पार्टीले २००७ साल अघिदेखि २०८२ सम्म नेपाली जनताले गरेका संघर्ष र आन्दोलनबाट स्थापित स्वतन्त्रता, समता, सम्मान र सहअस्तित्वका मूल्यहरूलाई लोकतान्त्रिक प्रणालीभित्रै संस्थागत गर्न सकिने विश्वास व्यक्त गरेको छ ।
संविधानमा उल्लेखित लोकतन्त्र, गणतन्त्र, संघीयता, नागरिक सर्वोच्चता, बहुलवाद, शक्ति पृथकीकरण, स्वतन्त्र न्यायपालिका, अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता, विधिको शासन र मानव अधिकारजस्ता मूल्यमान्यतामा अडिग रहँदै आफ्नो निर्वाचन प्रतिज्ञापत्रअनुसार नीतिगत, संस्थागत र संरचनागत सुधारका एजेन्डा अघि बढाउने कांग्रेसको धारणा छ ।
कांग्रेसले आफूलाई केवल विरोधका लागि विरोध गर्ने शक्ति नभई जिम्मेवार प्रतिपक्षका रूपमा प्रस्तुत गर्ने संकेत दिएको छ । पार्टीले सुशासन, पारदर्शिता, उत्तरदायित्व, अभिव्यक्ति स्वतन्त्रता र बलियो संसदीय संस्कारलाई आफ्नो राजनीतिक अभ्यासका पाँच प्रमुख आधारस्तम्भका रूपमा अघि सारेको छ । यिनै आधारमा संसदमा रचनात्मक बहस, प्रभावकारी निगरानी र जनहितका विषयमा स्पष्ट हस्तक्षेप गर्ने नीति कांग्रेसले लिएको छ ।
सरकारसँगको सम्बन्धबारे कांग्रेसले स्पष्ट र सन्तुलित दृष्टिकोण प्रस्तुत गरेको छ । सरकारका कानुनसम्मत तथा जनहितका काममा समर्थन र सहकार्य रहने जनाउँदै राष्ट्रिय सरोकारका साझा विषयमा सहमतिका आधारमा अघि बढ्न तयार रहेको बताएको छ । तर विधिको शासन, नागरिक अधिकार र लोकतान्त्रिक मूल्यहरूलाई कमजोर पार्ने वा संकुचित गर्ने कुनै पनि कदममा भने कडा प्रतिवाद गर्ने चेतावनी कांग्रेसले दिएको छ ।
पार्टीले सरकारलाई यस्ता कार्य नगर्न सचेत गराउँदै आवश्यक परे संसद्भित्र र बाहिरबाट दबाब सिर्जना गर्ने संकेत पनि गरेको छ । सहिष्णुता, संवाद र सम्मानपूर्ण व्यवहारमार्फत मात्रै संसदीय लोकतन्त्र सुदृढ हुने विश्वास व्यक्त गर्दै कांग्रेसले राजनीतिक प्रतिस्पर्धालाई सहकार्य र जिम्मेवारीसँग जोडेर हेरेको छ ।
