महामन्त्री गुरुराज घिमिरे भन्छन्- अनुशासन समिति स्वतन्त्र छ । उसले नोटिसमा लिएको छ । आफ्नो बाटो लिन्छ ।
What you should know
काठमाडौँ — समानान्तर गतिबिधि रोक्न सचेत गराउँदा समेत नरोकिएपछि नेपाली कांग्रेसको तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई कारबाही प्रकृया अघि बढाउने वा पुनः सेचत गराउने भन्ने बारेमा छलफल गर्न अहिले सानेपामा केन्द्रीय अनुशासन समितिको बैठक बसीरहेको छ ।
समितिले चैत २४ गते तत्कालीन कार्यवाहक सभापति खडकालाई समानान्तर गतिविधि नगर्न सेचत गराएको थियो । त्यसयता पनि निरन्तर गतिविधि गरेपछि त्यसै बिषयमा छलफल गर्न समितिको बैठक बसेको हो । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउको बिषयमा खडकाले कार्यवाहक सभापतिको हैसियतमा पार्टीको ‘लेडरहेड’ प्रयोग गरेर विज्ञप्ति निकालेपछि समितिले अब त्यस्तो गतिविध नगर्न भन्दै सचेत गराएको थियो ।
खड्काले कांग्रेस महाधिवेशन प्रकृया अघि बढाउने सिलसिलामा १ बैशाखदेखि सुरु भएको सदस्यता अद्यावधिक गर्ने अभियानको विरोध गर्दै सोमबार विज्ञप्ति निकालेका थिए । उक्त विज्ञप्तिपछि समितिको बैठक बुधबारका लागि बोलाईएको हो । अनुशासन समितिको बैठक सकिएलगतै आजै २ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक समेत बोलाईएको छ । महामन्त्री गुरुराज घिमिरेले समितिले अध्ययनका आधारमा गर्नुपर्ने काम गर्ने भन्दै त्यसमा पार्टीले हस्तक्षेप नगरेको बताए । उनले कारबाही भएर पार्टीमा पुनरावेदन आएमा मात्रै केन्द्रीय कार्यसमितिले हेर्न मिल्ने बताए ।
प्रस्तुत छ, यसै विषयमा घिमिरेसँग कान्तिपुरका कुलचन्द्र न्यौपानेले गरेकाे कुराकानी :
समानान्तर गतिविधि गरेको भनेर तपाईहरुले तत्कालीन सभापति पूर्णबहादुर खडकालाई कारबाही गर्न खोज्नु भएको हो ?
अनुशासन समिति स्वतन्त्र छ । उसले नोटिसमा लिएको छ । आफ्नो बाटो लिन्छ । आफ्नो अध्ययनका आधारमा गर्नुपर्ने काम गर्छ । हामीले गर्ने भनेको अनुशासन समितिले गरेका निर्णय उपर पुनरावेदन आयो भने हेर्ने हो । अहिले अनुशासन समितिलाई यो गर, उ गर भन्ने कुरा भएन । यस्ता बिषयमा काम गर्नका लागि समिति आफैलाई स्वायत्तता छ ।
केन्द्रीय कार्यसम्पादन समितिको बैठकको एजन्डा चाहिँ के छ ?
संसदीय दलको नेता चयनको बिषय छ । अर्को आन्तरिक र सांगठनिक बिषय छन् ।
कार्यसम्पादन समितिले पनि अुनशासनको बिषयमा केही नीतिगत निर्देशन त दिने काम होला नि ?
अनुशासनको बिषयमा हुँदैन । समितिले गरेको काममा चित्त नबुझेर कसैले पुनरावेदन गर्यो भने छलफल हुने हो । नत्र कार्यम्पादनमा यस बिषमयमा छलफल हुन्न ।
पार्टीभित्र समानान्तर गतिविधिप्रति तपाईहरुले गम्भीर र आपत्तिजनक हो भनेर त भन्दै आउनु भएको छ नि ?
समानान्तर गतिविधिमा बोल्दा भनेकै छौ । पार्टीको मर्यादा, अनुशासन सबै कुराहरुलाई हेर्दा यस्तो गतिविधि मेल खाँदैन । अहिले पार्टीको आधिकारिता त सानेपासंग मात्रै छ । वीपी स्मृति भवन ललितपुर भनेर लेटर हेड प्रयोग गरेर समानान्तर रुपमा जारी गरिएको विज्ञप्ति गम्भीर प्रकृतिको छ । यो पार्टीको परम्परा, अनुशासनसंग मेल खाँदैन ।
एकातिर पार्टीको एकताको पहल गर्नुपर्छ पनि भन्दै आउनु भएको छ । किन संवाद हुन सकिरहेका छैन त ?
मुख्य नेतृत्वले भेट्ने कुराकानी भइरहेको छ । अहिल सबैको ध्यान बैशाख ३ गतेको अदालतको पेशीतिर छ । भेट्ने , कुराकानी गर्ने भन्ने भइरहेको छ ।
पार्टी एकता झन–झन टाढिदै गएको हो ? 
पार्टी एकताका लागि यस्ता गतिविधिले सहज बनाउँदैन । सहज बनाउनका लागि तदअनुकुलका काम गर्नुपर्छ । दुरी बढाउने र झगडा चर्काउन बाटो अख्तियार गरेपछि वातवरण त विथलिन्छ नि ।
अदालतमा मुद्दा बिचाराधीन रहुञ्जेल सम्म हाम्रो स्टाटस पुरानै हुन्छ नि भन्दै आउनु भएको छ नि ?
मुद्धा त आम निर्वाचन अगाडि पनि थियो । कांग्रेसको नेतृत्वको रिक्तता विधान र परम्पराले कल्पना पनि गर्दैन । यो संभव छैन । अविछिन्न उत्तराधिकारवाला संगठन हो । पार्टी भनेको हिमनदी जस्तै हो । कहिले सुक्ने, कहिले बग्ने हुन्न । पार्टी खहरे होइन । एउटा संवैधानिक निकायले आधिकारिकता दिएर आम निर्वाच भएर पार्टीको जिम्मेबारी सम्हालीरहेको अवस्था छ । अन्यथा निर्णय भएको छैन । भोलि अदालतले जे निर्णय गर्ला, त्यहि होला । तर, एउटा संवैधानिक आयोगले बैधानिकता दिइसकेपछि पार्टीको नेतृत्वलाई मान्दिन भन्नु अर्गेल्याई बाहेक केही हुन सक्दैन । उहाँहरु पार्टीमा लामो समय काम गरेको, सिनियर नेताहरु हो । अहिले भूमिकामा मात्रै हुनुहुन्न ।
हिजो त लामो समयदेखि भूमिकामा हुनुहुन्थ्यो । उहाँहरुबाट यस्तो अर्गेल्याई भएपछि नयाँ पुस्ताले के सिक्ने ?
तपाईहरुले क्रियाशील सदस्यता अद्यावधिकको नाममा आफू खुश गर्न लागेको भन्ने आरोप पनि छ । पुराना सदस्यहरु खारेज गर्न लागेको भन्ने मुख्य सरोकार छ । के भन्नुहुन्छ ?
होइन । स्वच्छिक रुपमा अब म नवीकरण गर्दिन भनेर कसैले भन्नुहुन्छ भने उसको सक्रिय सदस्यता हुन्न । तर, अभिलेखमा सदस्यता हुनुहुन्थ्यो भन्ने रहन्छ । पुराना नेताहरु भनेका हाम्रा धरोहर हुन । सम्पत्ति हुन् । उहाँहरुलाई हामी विशेष अनुरोध गर्दछौं । पार्टीको पहिचान भएर बस्नु भएका नेताहरु, जसले लामो समय सघर्षमा योगदान पुर्याउँनु भएको छ, उहाँहरुलाई आग्रह र अनुरोध गर्छौं । भेट्छौं । व्यवहारिक रुपमा सजिलो पनि बनाइदिन्छौं । बाहिर भएकाहरुले आफ्नो जिल्लामा फर्कनुपर्छ । वडामा गएर सदस्यता लिनुपर्छ । फकर्न नसक्ने कुनै व्यवहारिक कारण प्रष्ट देखियो भने भौतिक उपस्थिति विनापनि गर्न सकिन्छ ।धेरैवटा बाटोहरु छन्। सुविधा बढेको छ ।
शेरबादुर देउवा पक्षले सदस्यता नै खारेज गरेको भनेर आपत्ति जनाइरहेका छ नि ?
त्यस्तो होइन । सदस्यता अद्यावधिक गरेन भने अभिलेखमा मात्रै रहने हो । त्यो भनेको खारेज जस्तै भयो । अद्यावधिक र नवीकरण भन्नु एकै हो । पार्टी र भातृसंस्थाका सदस्यहरु कति छन त भनेर हामीले एकपटक फेरि जाँच्न खोजेको हो । बैधानिक प्रवन्ध मार्फत जाँच्न गरेको । अद्यावधि गर्न सकिने व्यवस्था विधानमै छ । व्यक्तिगत लहड र आवेगमा गरिएको होइन ।
