कार्की आयोगको प्रतिवेदन अध्ययन गर्न कार्कीको संयोजकत्वमा समिति गठन

गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनमा सुरक्षा निकायका सम्बन्धमा गरिएका सिफारिस कार्यान्वयन अध्ययन गर्न प्रेमराज कार्कीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो । 

वैशाख २, २०८३

जयसिंह महरा

Committee formed under Karki's coordination to study Karki Commission report

काठमाडौँ — सरकारले जेन-जी आन्दोलनका क्रममा सुरक्षा निकायको भूमिका सम्बन्धमा 'भदौ २३ र २४ गते घटेको घटना जाँचबुझ गर्न गठित आयोग'को प्रतिवेदनमा सुरक्षा निकायका सम्बन्धमा उल्लेख गरेका विषय कार्यान्वयनका लागि अर्को समिति गठन गरेको छ । 

मन्त्रिपरिषद्को बुधबारको बैठकले गौरीबहादुर कार्की संयोजकत्वको समितिले दिएको प्रतिवेदनमा सुरक्षा निकायका सम्बन्धमा गरिएका सिफारिस कार्यान्वयनबारे अध्ययन गर्न समिति गठन गरेको हो । 

सरकारका प्रवक्ता सस्मित पोखरलेका अनुसार तीन सदस्यीय आयोग गठन गरिएको छ । ‘२०८२ भदौ २३ र २४ गते घटेको घटना जाँचबुझ गर्न गठित जाँचबुझ आयोगले पेस गरेको प्रतिवेदन कार्यान्वयनको सन्दर्भमा सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न उच्च अदालतका पूर्वन्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा सशस्त्र प्रहरी बलका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक सुबोध अधिकारी र नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई सदस्य रहेको समिति गठन गर्ने,' मन्त्रिपरिषद्को निर्णय छ ।

सरकारले मन्त्रिपरिषद्को पहिलो बैठक चैत १३ मा राजनीतिक नेतृत्वका हकमा प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने र सुरक्षा निकायका हकमा प्रतिवेदन अध्ययन गरेर मात्रै कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो । 

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully