पार्टीले नेता चयनका लागि सहमहामन्त्री प्रकाश रसाइलीको नेतृत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिसकेको छ ।
काठमाडौँ — कांग्रेसले संसदीय दलको नेता ४ वैशाखमा चयन गर्ने भएको छ । संसदीय दलको नेता कसलाई बनाउने भन्नेबारे विवाद भइरहेका बेला उक्त दिन दलको नेता चयन गरिन लागेको निर्वाचन समितिका संयोजकसमेत रहेका सहमहामन्त्री प्रकाश रसाइलीले बताए ।
यसअघि नै केन्द्रीय कार्यसमिति बैठकले रसाइलीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरे पनि सर्वसम्मत गराउने प्रयास भएकाले प्रक्रिया अघि बढाइएको थिएन । ‘अब सर्वसम्मत नभए पनि ४ वैशाखमा दलको नेता चयन हुन्छ । २ गते नै निर्वाचन प्रक्रिया सार्वजनिक गर्छौं,’ उनले भने ।
संसदीय दलको नेताका लागि अर्जुननरसिंह केसी, भीष्मराज आङदम्बे, मोहन आचार्य र भरतबहादुर खड्कालगायतको दाबी छ । पुराना नेताबीच किचलो बढेकाले केही नेता अब युवा सांसदलाई दलको नेता बनाउनुपर्ने मागसमेत गरिरहेका छन् । युवा सांसदहरू योगेश गौचन थकाली, निस्कल राई र बासना थापामध्ये एकलाई संसदीय दलको नेता बनाउनुपर्ने आवाज पनि पार्टीभित्र छ ।
नेता शेरबहादुर देउवा पक्षले विशेष महाधिवेशनबाट आएका सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिमाथि वैधानिकताको प्रश्न उठाएर अलग्गै गतिविधि गर्दै आएको पृष्ठभूमिमा उनीहरूलाई समेत मिलाउन संसदीय दलको नेता चयनमा सर्वसम्मत गराउने प्रयास संस्थापनपक्षले गर्दै आएको छ । त्यसका लागि सभापति थापा र उपसभापति विश्वप्रकाश शर्माले तत्कालीन कार्यसमितिका सहमहामन्त्री आङदम्बेलाई अघि सार्ने योजना बनाइरहेका छन् ।
आङदम्बे देउवानिकट नेता हुन् । २१ फागुनको निर्वाचनपछाडि उनी विशेष महाधिवेशबाट चयन भएको केन्द्रीय कार्यसमितिसँग जोडिएका छन् । सभापति थापा भने नेता केसीले दलको नेताको आकांक्षा नत्यागेका कारण अप्ठ्यारोमा परेका छन् । केसी थापाका ससुरा नाताका हुन् । आङदम्बे र केसी दुवै समानुपातिक तर्फबाट सांसद भएका हुन् । ‘सर्वसम्मति हुने अवस्थामा आङदम्बेलाई अघि सार्ने कुरामा सभापति, उपसभापति एकमत हुनुहुन्छ,’ एक पदाधिकारीले भने, ‘भएन भने प्रत्यक्ष निर्वाचितमध्येबाट बन्न सक्ने अवस्था पनि हुन सक्छ ।’
