आइतबार काठमाडौंमा भएको भेलाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई ३ बुँदे पत्र लेखी जेठमा महाधिवेशन गर्नेगरी मिति तोक्न माग गरेको महामन्त्री राणाले बताएका छन् ।
What you should know
काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा विवाद फेरि चर्किएको छ । महामन्त्री धवल शमशेर राणाको नेतृत्वमा आइतबार काठमाडौंमा भएको भेलाले एक साताभित्र महाधिवेशनको मिति घोषणा गर्न माग गरेको छ ।
भेलाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई ३ बुँदे पत्र लेखी जेठमा महाधिवेशन गर्नेगरी मिति तोक्न माग गरेको महामन्त्री राणाले बताएका छन् । ‘जेठमा महाधिवेशन हुनुपर्ने माग गरेका छौं,’ उनले भने, ‘जेठमा महाधिवेशन गर्ने निर्णय भए पनि ढिलाइ भइरहेको छ ।’ २१ फागुनको निर्वाचनअघि राप्रपाले महाधिवेशन सार्ने निर्णय गरेको थियो ।
मागपत्रमा ‘सन्तुलित र विश्वसनीय वातावरणमा केन्द्रीय महाधिवेशन सम्पन्न गर्नेगरी निष्पक्ष व्यक्तिको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन, केन्द्रीय महाधिवेशनको मिति एक साताभित्र घोषणा, यसअघि विधानविपरित भएका काम कारबाहीको छानबिनको माग समेत गरिएको छ ।
भेलाको मगपत्रको अर्थ छैन : प्रवक्ता श्रेष्ठ
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले १६ बैशाखमा केन्द्रीय कार्यसमिति बैठक बोलाएका कारण भेलाको मागपत्रको अर्थ नभएको बताए । ‘अब जे छलफल हुन्छ, केन्द्रीय कार्य समिति बैठकमा हुन्छ,’ उनले भने, ‘अर्को भेलाको अर्थ छैन ।’
अध्यक्ष लिङ्देन पक्षले चुनाव नै बहिस्कार गरेको समूहले छुट्टै भेला गरेको आरोप लगाएको छ । महामन्त्री राणा पक्षले २०७८ को एकता महाधिवेशनबाट नयाँ उमंग र नयाँ सम्भावना बोकेर अघि बढेको राप्रपा हालै सम्पन्न संसदीय निर्वाचनसम्म आइपुग्दा नराम्रोसँग खुम्चिन पुगेको जनाएको छ । ‘निर्वाचनपूर्वको केन्द्रीय कार्यसमिति बैठकमा अध्यक्ष लिङ्देनले, मलाई खेल्न दिनुहोस्, राप्रपालाई देशको पहिलो पार्टी बनाउँछु भन्नुभएको थियो, पार्टीको पक्षमा अकल्पनीय नतिजा प्राप्त हुने बताउनुभएको थियो’ राणालगायत नेताले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘निश्चितरुपमा नतिजा त अकल्पनीय नै प्राप्त भयो तर नकरात्मक । शर्मनाक नतिजा हात लागेको डेढ महिना पुग्न लाग्यो तर चुनावी असफलताको कुनै लेखाजोखा र नैतिक जिम्मेदारी बहन गरिएको छैन । संकट र चिन्ताको यस घडीमा केन्द्रबाट दिशानिर्देश हुन्छ भनेर प्रतिक्षारत देशभरिका पार्टीपंक्तिको हात रित्तो छ ।’
शून्यताबीच लाखौं कार्यकर्ता र पार्टीकै भविष्यलाई लिएर गम्भीर प्रश्न कायमै छ । यसैबीच नेता, कार्यकर्ताहरूबाट पार्टी जिम्मेवारी र पार्टी सदस्यता परित्याग गर्ने क्रम जारी छ ।
राणाले 'राप्रपा सच्चिने कि सकिने' भन्ने गम्भीर अवस्थाबीच, केन्द्रीय महाधिवेशनबाट ताजा जनादेश प्राप्त गर्नुबाहेक उत्तम विकल्प नभएको विज्ञप्तिमा जनाइएको छ ।
