बैठकमा समसामयिक राजनीतिक परिस्थिति, नयाँ सरकारको कार्यदिशा र पार्टीको आगामी कार्ययोजनाबारे गहन छलफल भइरहेको नेता खतिवडाले जानकारी दिए ।
काठमाडौँ — नेपाली कम्युनिष्ट पार्टीले जनसंगठन र ट्रेड युनियनमाथिको प्रतिबन्ध स्वीकार्य नभएको बताएको छ ।
केन्द्रीय कार्य समायोजन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका नेता जगन्नाथ खतिवडाले यस्तो बताएका हुन् । युवा र विद्यार्थी संगठनहरूलाई प्रतिबन्ध लगाउने र ट्रेड युनियनको अधिकार कुण्ठित गर्ने कुरा गलत भएको उनले बताए । यसको विरुद्धमा पार्टी सडकमा उत्रिने चेतावनी दिए ।
उनले भने, ‘जनसंगठनहरू, खासगरी युवा र विद्यार्थी संगठनहरूलाई कलेजहरूमा प्रतिबन्ध लगाउने र ट्रेड युनियनको अधिकार कुण्ठित गर्ने कुरा गलत हो । यसको विपक्षमा हामी दृढतापूर्वक उभिन्छौं ।’
बैठकमा समसामयिक राजनीतिक परिस्थिति, नयाँ सरकारको कार्यदिशा र पार्टीको आगामी कार्ययोजनाबारे गहन छलफल भइरहेको नेता खतिवडाले जानकारी दिए । विभिन्न कार्यव्यस्तताका कारण दैनिक केही घण्टा मात्र छलफल भइरहेको यो बैठकमा ४५ सदस्यीय केन्द्रीय कार्य समायोजन समितिका लगभग ४३ जना सदस्यहरूले आफ्नो धारणा राखिसकेका छन् ।
नेता खतिवडाकाअनुसार बैठकमा पार्टीका सम्पूर्ण कमिटीहरूको समायोजन र एकीकृत पार्टीको भविष्यको कार्यदिशाबारे पनि छलफल भएको छ । नयाँ वर्ष र आन्तरिक गृहकार्यका लागि समय आवश्यक परेकाले अर्को बैठक वैशाख ३ गते बस्ने तय भएको छ ।
