भारतीय नम्बर प्लेटका सवारी साधनले नेपाली यातायात व्यवसायी संकटमा परे : सांसद डाँगी

नेपाल-भारत सीमा क्षेत्रमा भारतीय सवारी साधनको कारण नेपाली यातायात व्यवसायी र सवारी चालक संकटमा परेको बताउँदै रास्वपा सांसद निशा डाँगीले भारतीय गाडीले नेपालमा कुनै पनि दुर्घटना गरेमा क्षतिपूर्ति पाउनसमेत समस्या परिरहेको बताएकी छन् ।

चैत्र २५, २०८२

जयसिंह महरा

Vehicles with Indian number plates put Nepali transport entrepreneurs in crisis: MP Dangi

What you should know

काठमाडौँ — नेपाल-भारत सीमा क्षेत्रमा भारतीय नम्बर प्लेटका सवारी साधनका कारण नेपाली सवारी चालक र यातायात व्यवसायी संकटमा परेको सत्तारुण राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद निशा डाँगीले बताएकी छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद डाँगीले भारतबाट नेपाल आउनका लागि एक दिनको लागि भन्सार पास बनाएर नेपालमा नै लामो समय संचालन हुने गरेका सवारी साधनहरूलाई नियमन गर्नुपर्ने बताएकी हुन् । त्यसरी नेपाल प्रवेश गरेर लामो समय यहाँ संचालन हुने सवारीको आवश्यक नियमन नहुँदा भन्सार शुल्कमा क्षतिसँगै यहाँका व्यवसायी मारमा परेको र दुर्घटना भएमा क्षतिपूर्तिका लागि समस्या हुने गरेको सांसद डाँगीको भनाइ थियो ।

भारतीय सवारीको दुरुपयोग रोक्न सरकारले पहलकदमी लिनुपर्ने सांसद डाँगीको भनाइ थियो । ‘भारतीय नम्बर प्लेटका सवारी साधनहरू नेपालमा प्रवेश गर्ने जुन व्यवस्था गरिएको छ, त्यसको हाल दुरुपयोग भइरहेको छ । नियमअनुसार १ दिनको भन्सार ‘डे पास’ लिएर प्रवेश गरेका सवारीहरू फिर्ता जानुपर्ने हो, तर व्यवहारमा ती सवारीहरू नेपालमै निजी तथा सार्वनजिक रूपमा संचालन भइरहेका हुन्छन्,’ सांसद डाँगीले भनिन्, ‘यसले गर्दा उच्च भन्सार तिरेर संचालनमा रहेका नेपाली नम्बर प्लेटका सवारी साधनहरूमा प्रत्यक्ष असर परिरहेको छ ।’

झापा- १ बाट निर्वाचित सांसद डाँगीले उक्त क्षेत्र पनि यस्तो समस्याबाट प्रभावित रहेको बताइन् । सँगसँगै नेपाल र भारतका सीमाक्षेत्रमा यस्ता समस्या देखिएको उनको दाबी थियो । ‘प्रत्येक सीमा क्षेत्रमा भारतीय सवारी साधनको कारण नेपाली यातायात व्यवसायीहरू दबाइएका अवस्थामा छन् । नेपाली चालक र व्यवसायीहरू संकटमा परिरहेका छन्,’ उनले भनिन्, ‘भारतीय गाडीले नेपालमा कुनै पनि दुर्घटना गरेमा क्षतिपूर्ति पाउनसमेत उत्तिकै समस्या परिरहेको छ ।’

भारतीय नम्बर प्लेटका सवारी साधन भन्सारबाट ‘डे पास’मा नेपाल आउने र यहाँ लामो समय चल्ने समस्या समाधान गर्नका लागि सांसद डाँगीले तीन सुझाव दिएकी छन्- सीमानाकामा कडाइका साथ अनुगमन गरियोस्, ‘डे पास’को दुरुपयोग तत्काल रोकियोस् र सीमा क्षेत्रमा नेपाली यातायात व्यवसायीको संरक्षण गरियोस् ।  

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully