प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित सांसदहरूलाई समूहगत भेटवार्ता गरी विकास निर्माण लगायत विषयमा प्रधानमन्त्री शाहले छलफल गरेका थिए । समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदहरूलाई भने प्रधानमन्त्री शाहले बोलाएका थिएनन् ।
काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित सांसहदरूको प्रदेश अनुसार समूह बनाइ सिंहदरबारमा बोलाएर भेटवार्ता गरेका छन् । त्यस क्रममा उनले निर्वाचन क्षेत्रका विकास आयोजनाको अवस्थालगायतका विषयमा छलफल गरेका थिए । तर, प्रतिनिधिसभा समानुपातिक निर्वाचन प्रणालीबाट आएका सांसदहरूसँग भने प्रधानमन्त्री शाहले बोलाएका छैनन् ।
यसरी प्रधानमन्त्री शाहको तहबाट नै प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदबीच विभेद भएको भन्दै प्रतिनिधिसभाको बैठकमा विषय उठेको छ । एमालेका सांसद टुकाभद्र हमालले प्रधानमन्त्री शाहले समानुपातिक सांसदहरूलाई विभेद गरेको बताइन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद सांसद हमालले प्रधानमन्त्री शाहलाई प्रश्न गरेकी हुन् । ‘प्रत्यक्ष निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएर आउनुभएका माननीय सदस्यहरूमा किन विभेद ?,’ सांसद हमालले साेधिन्, ‘प्रधानमन्त्रीबाट प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित सांसदहरूलाई भेट दिइ विकास निर्माणको विषयमा कुरा राख्न पाउने अवसर प्रदान गर्नभुएको कुरा सुन्नमा आएको छ । तर समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदहरूको उक्त अवसरबाट किन बञ्चित ?’
समानुपातिक सांसदहरूलाई विभेद नगर्न सांसद हमालले प्रधानमन्त्री शाहसँग आग्रह गरेकी थिइन् ।
त्यस्तै, सांसद हमालले एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई गैरकानुनी हिसाबले थुनामा राखिएको दाबी गरेकी थिइन् । उनले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई तत्काल बिनाशर्त रिहाइ गर्न पनि माग गरेकी थिइन् ।
