रास्वपा सांसद यादवको ओलीलक्षित अभिव्यक्ति: 'जुन अपराधी कारागारको ढोकाभित्र हुनुपर्ने त्यो हस्पिटलको बेडमा छ'

प्रतिनिधिसभाको बुधबारको बैठकमा रास्वपा सांसद पुरुषोत्तम सुप्रभात यादवले भने- आज जुन अपराधी कारागारको ढोकाभित्र हुनुपर्ने थियो, त्यो हस्पिटलको बेडमा छ । त्यहिँ बेडबाट कुविचार यो सम्मानित सदनसम्म पठाउँदैछ ।

चैत्र २५, २०८२

जयसिंह महरा

RSP MP Yadav's statement targeting Oli: 'The criminal who should be inside the prison gate is in the hospital bed'

What you should know

काठमाडौँ — सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ‘अपराधी’को संज्ञा दिएका छन् । 

प्रतिनिधिसभाको बुधबारको बैठकमा रास्वपाका सांसद पुरुषोत्तम सुप्रभात यादवले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीलाई ‘अपराधी’को संज्ञा दिएका हुन् । अस्पतालको बेडमा रहेका ओलीले संसद्मा ‘कुविचार’ प्रवाह गरिरहेको पनि सांसद यादवले आरोप लगाएका छन् । एमाले सांसदहरूले प्रतिनिधिसभाको पहिलो दिन चैत १९ देखि नै अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकको पक्राउको विरोध गरिरहेको छ । 

रास्वपा सांसद यादवले भने ओली अस्पतालमा नभई कारागारमा हुनुपर्ने बताएका हुन् । ‘जुन भूतले कमरेड ओलीलाई छलेको थियो त्यै भूतले आज कमरेड बादललाई छलेको देखिन्छ । त्यसैले म सरकारसँग जोडदार माग गर्दछु एउटा भूत झार्ने झाँक्रीको व्यवस्था गरियोस्,’ यादवले भने, ‘किनकी, आज जुन अपराधी कारागारको ढोकाभित्र हुनुपर्ने थियो, त्यो हस्पिटलको बेडमा छ । त्यहिँ बेडबाट कुविचार यो सम्मानित सदनसम्म पठाउँदैछ ।’

सांसद यादवले भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलन न्याय, समानता र अधिकारका लागि भएको बताए । ‘म आज यो सम्मानित सदनमा स्पष्ट भन्न चाहन्छु जेन-जी आन्दोलन किन भएको थियो, यो आन्दोलनको माग न्याय, समानता र अधिकार कसैले कहिले पनि बिर्सिनु हुँदैन । यो सरकार त्यै रक्तरंजित आन्दोलनको बलिदानमाथि बनेको हो,’ उनले प्रश्न गरे, ‘कहिले जेन-जी घाइतेहरूको रोजगारी सुनिश्चित  हुन्छ ? र, कहिले मृतक परिवारले न्याय पाउँछ ?’

जेन-जी आन्दोलनका क्रममा प्रधानमन्त्री रहेका ओली र गृहमन्त्रीको पदमा रहेका लेखकलाई भदौ १४ गते बिहान पक्राउ गरिएको थियो । ओली हाल प्रहरीको हिरासतमा अस्पतालमा उपचार गराइरहेका छन् । ओली र लेखकलाई भदौ २३ र २४ का घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनले दोषी देखाएको आधारमा प्रकाउ गरिएको हो । उनीहरूलाई बिहीबारसम्म हिरासतमुक्त गर्न सर्वोच्च अदालतले आदेश गरेको छ । 

सांसद यादव जेन-जी आन्दोलनका क्रममा अभियन्ता थिए । उनले नै काठमाडौं जिल्ला प्रशासनबाट शान्तिपूर्ण आन्दोलनका गर्ने भनी अनुमति लिएका थिए । पछि उनी रास्वपाबाट समानुपातिक सांसद बनेका हुन् । 

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully