मन्त्रिपरिषद्को २०८२ चैत १६ गते बसेको बैठकले प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा उक्त कार्यदल गठन गरेको थियो।
काठमाडौँ — वालेन्द्र शाह नेतृत्वको सरकारले गठन गरेको ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को पहिलो बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको छ।
मन्त्रिपरिषद्को २०८२ चैत १६ गते बसेको बैठकले प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा उक्त कार्यदल गठन गरेको थियो।
कार्यदलमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सदस्यका रूपमा रहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट मोहन आचार्य, नेकपा (एमाले) बाट संविधानसभाका सदस्य डा. भीष्मनाथ अधिकारी, नेकपाबाट संविधानसभाका सदस्य एवं पूर्व कानुनमन्त्री देवप्रसाद गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट संसदीय दलका नेता ज्ञानेन्द्र शाही र राष्ट्रिय जनमोर्चाबाट महासचिव मनोज भट्ट सदस्य रहेका छन्।
त्यसैगरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव पुष्कर सापकोटा र नेपाल कानुन आयोगकी सचिव इन्दिरा दाहाल पनि कार्यदलका सदस्य छन्। कार्यदलको सदस्य सचिवका रूपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत कानुन तथा फैसला कार्यान्वयन महाशाखाका प्रमुख लिलाधर सुवेदी रहेका छन्।
नेपाली कांग्रेस, श्रम संस्कृति पार्टी, जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले भने आफ्ना प्रतिनिधि पठाउने विषयमा आन्तरिक छलफल गरिरहेका छन्। ती दलहरूले कार्यदलका लागि सदस्यको नाम सम्भवतः आजै टुङ्गो लगाउने अपेक्षा गरिएको छ।
