देउवा र उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा मंगलबार नै पक्राउ पुर्जी जारी भएको छ ।
काठमाडौँ — कांग्रेस महामन्त्री प्रदीप पौडेलले स्वदेश फर्केर अनुसन्धानमा सहयोग गर्न पार्टीका पूर्वसभापति शेरबहादुर देउवा दम्पतीलाई आग्रह गरेका छन् । देउवा र उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा मंगलबार नै पक्राउ पुर्जी जारी भएको छ । फरार सूचीमा रहेका देउवा दम्पतीलाई पक्राउ गरेर ल्याउन सरकारले रेड नोटिस जारी गर्ने तयारी भइरहेका बेला कांग्रेस महामन्त्री पौडेलले स्वदेश फर्केर अनुसन्धानमा सघाउन आग्रह गरेका हुन् । २१ फागुनको निर्वाचन अगाडि नै सिंगापुर गएका देउवा दम्पती केही समय अघि हङकङ गएका जानकारी उनको सचिवालयले नै दिएको थियो । त्यसपछि सिंगापुर नै फर्केको वा हङकङमै रहेको बारे जानकारी दिइएको छैन ।
पौडेलले देउवा दम्पती माथि भइरहेको सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयको अनुसन्धान निष्पक्ष र स्वतन्त्र ढंगले अघि बढाउन सरकारसँग आग्रह गरेका छन् । जेन-जी विद्रोहको क्रममा गत भदौ २४ गते देउवाको बुढानीलकण्ठस्थित घर आगजनीका क्रममा ठूलो परिमाणमा नेपाली तथा विदेशी नोट डढेको फेला परेका थिए । त्यसलाई देउवाले एआईबाट बनाएको भन्दै खण्डन गरेका थिए ।
‘एआईले बनाएको हो कि होइन, अनुसन्धान गरेपछि नै थाह हुने हो । अनुसन्धान होस् । कुनै पनि भ्रष्ट्राचारका कान्डमा पार्टीका जतिसुकै ठूला नेता परे पनि निष्पक्ष र स्वतन्त्ररुपमा हुने अनुसन्धानमा पार्टीले सहयोग गर्छ,’ पौडेलले भने,‘राजनीतिक प्रतिशोधको आधारमा नभएर कानुन र प्रक्रिया सम्मत होस् भन्ने हाम्रो माग हो ।’
