प्रतिनिधिसभाको शून्य समयमा जनसरोकारका विषयप्रति ध्यानाकर्षण

सांसद जनकसिंह धामीले बैतडीस्थित बेलरी भन्सार स्तरोन्नति गर्नुपर्ने आवश्यकता औँल्याउँदै सीमा क्षेत्र व्यवस्थापन प्रभावकारी बनाउन र सीमा समस्याको समाधानका लागि उच्चस्तरीय कूटनीतिक पहल आवश्यक रहेकामा जोड दिए ।

चैत्र २५, २०८२

रासस

Attention drawn to issues of public concern during the House of Representatives' zero hour

काठमाडौं — आज बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा सांसदहरूले देशका विभिन्न क्षेत्रका जनसरोकारका विषय उठाउँदै सरकारको ध्यानाकर्षण गराएका छन् । 

बैठकमा सांसद जगतप्रसाद जोशीले कमलरी तथा कमैया समुदायका नागरिकलाई परिचयपत्र वितरण गर्न, बसोबासका लागि जग्गा उपलब्ध गराउन तथा जग्गाधनी पुर्जा प्रदान गर्न सरकारसँग माग गरेका छन् । उनले दीर्घकालीन पुनःस्थापनाका लागि ठोस कार्यक्रम आवश्यक रहेको उल्लेख गरे । 

यसैगरी, सांसद जगदीश खरेल (दोलखा)ले कालिञ्चोक गाउँपालिका क्षेत्रको लापिलाङस्थित पहिरो तत्काल नियन्त्रण गर्नुपर्नेमा जोड दिँदै जोखिम न्यूनीकरण सम्भव नभए प्रभावित बस्ती स्थानान्तरण गर्नुपर्ने बताए । 

सांसद जनकसिंह धामीले बैतडीस्थित बेलरी भन्सार स्तरोन्नति गर्नुपर्ने आवश्यकता औँल्याउँदै सीमा क्षेत्र व्यवस्थापन प्रभावकारी बनाउन र सीमा समस्याको समाधानका लागि उच्चस्तरीय कूटनीतिक पहल आवश्यक रहेकामा जोड दिए । त्यसैगरी सांसद जयपति रोकायले हुम्लामा सडक पूर्वाधार स्तरोन्नति गर्न र हवाई भाडादर घटाउन सरकारलाई आग्रह गरे । दुर्गम क्षेत्रका नागरिकलाई सहज यातायात पहुँच सुनिश्चित गर्नुपर्ने उनको भनाइ थियो । 

सांसद छविलाल डुम्रेले सिद्धार्थ राजमार्गको स्तरोन्नति गर्न माग गरे । सांसद टीका सङ्ग्रौलाले अछाममा स्वास्थ्य संस्थाको अभावका कारण सुत्केरी महिलाले अकालमै ज्यान गुमाउनुपरेको भन्दै स्वास्थ्य सेवा विस्तारमा सरकार गम्भीर हुनुपर्ने बताए । 

सांसद तारा विश्वकर्माले मनसुनअघि नै विपद् जोखिम न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्न, आकस्मिक व्यवस्थापनका लागि पर्याप्त बजेट छुट्याउन तथा पूर्वसूचना प्रणाली र पूर्वतयारीमा राज्यको लगानी बढाउनुपर्नेमा जोड दिए । 

यसैगरी, सांसद टुकाभद्र हमाल, ठाकुरसिंह थारु, तापेश्वर यादव, ताहिर अली, दीपकराज बोहोरा, दीपककुमार साह (सुनसरी), देवराज पाठक, धनञ्जय रेग्मी, धरेन्द्र कार्की, धनबहादुर बुढा, धर्मराज केसी र नरेन्द्रकुमार केरुङलगायतले पनि आ–आफ्ना क्षेत्रका विविध समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका थिए । 

सांसद  नरेन्द्रकुमार गुप्ता, नीतिमा भण्डारी कार्की, निशा डाँगी, निश्कल राई, नीता घतानी, पवित्रा विक, पर्शुराम तामाङ, पारस मणी गेलाल, पार्वती विक, पुकार बम, पुष्पाकुमारी चौधरी, पुनमकुमारी अग्रवाल, पुर्णप्रसाद लिम्बु, प्रकाश पाठक, प्रकाशसिंह कार्की, प्रदीप विष्ट, प्रभा कार्की, पुरुषोत्तम सुप्रभात यादव, प्रभा ढकाल, प्रमिला गच्छदार, प्रमिला कुलुजु, प्रमोदकुमार महतो, प्रसान्त उप्रेतीलगायतले पनि समसामहिक विषयमा धारण राखेका थिए । 

रासस

Link copied successfully