राष्ट्रिय सभाका चार समिति सभापतिले लिए शपथ

राष्ट्रिय सभा उपाध्यक्ष र चारवटा समिति सभापतिमा कांग्रेस, नेकपा, एमाले र जसपा नेपालबीच भागबण्डा भएको थियो ।

चैत्र २५, २०८२

जयसिंह महरा

Four committee chairmen of the National Assembly take oath

काठमाडौँ — राष्ट्रिय सभा अन्तर्गतका चार संसदीय समितिका सभापतिहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बुधबार संघीय संसद् सचिवालयमा आयोजित कार्यक्रममा चारवटै संसदीय समिति सभापतिलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।

राष्ट्रिय सभाका चार समितिका सभापतिको निर्वाचन मंगलबार भएको थियो । चारवटै सभापति सर्वसम्मत निर्वाचित भएका थिए । समिति सभापतिमा कांग्रेस, नेकपा र जसपा नेपालबीच सहमति भएको थियो । 

जसअनुसार विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापतिमा कांग्रेसका कृष्णप्रसाद पौडेल, विधायन व्यवस्थापन समितिको सभापतिमा कांग्रेसकै कृष्णबहादुर रोकाय निर्वाचित भएका थिए । 

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा माननीय जसपा नेपालकी पूजा चौधरी र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा नेकपाकी जयन्तीदेवी राई निर्विरोध निर्वाचित भएका थिए ।

राष्ट्रिय सभाको उपाध्यक्षमा भने एमालेका लिलाकुमारी भण्डारी निर्विरोध निर्वाचित भएका थिए । माघ ११ मा भएको राष्ट्रिय सभाको निर्वाचनपछि उपाध्यक्ष र चार समिति सभापतिको पद रिक्त भएको थियो ।

रिक्त पदहरूमा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरू कांग्रेस, नेकपा, एमाले र जसपा नेपालबीच भागबण्डा भएको थियो ।   

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully