हस्ताक्षर चलाइरहेका नेता भन्छन् - केन्द्रीय सचिवालय वा केन्द्रीय कमिटीबाट विशेष महाधिवेशनमा जाने निर्णय भए स्वतः रोकिन्छ
काठमाडौँ — एमाले संस्थापन पक्षले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान चलाइरहेका नेताहरुलाई बोलाएर उक्त अभियान रोक्न निर्देशन दिएको छ । कार्यवहाक अध्यक्ष रामबहादुर थापा, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले हस्ताक्षर अभियान चलाइरहेका बुद्धिजीवी परिषद्का अध्यक्ष गजेन्द्र थपलिया, युवा संघका उपमहासचिव उपेन्द्र शाही र अनेरास्ववियुका उपमहासचिव कमल जोशीलाई मंगलबार केन्द्रीय कार्यालय च्यासल बोलाएर छलफल गरेका हुन् । अभियानकर्ता नेताहरुले विशेष महाधिवेशनका लागि नेतृत्व तयार भए स्वतः रोकिने जवाफ दिएका हुन् ।
‘पार्टी सुधार गर्ने कुरामा बिमति छैन । तर अहिले हस्ताक्षर अभियान रोक्नुस्’ एमालेका तीन पदाधिकारीको आग्रह थियो । तर हस्ताक्षर अभियान चलाइरहेका नेताहरुले पार्टी पुनर्निर्माणका लागि विशेष महाधिवेशन आवश्यक भएकाले हस्ताक्षर अभियान सुरु गरेको तर्क गरेका थिए । ‘केन्द्रीय सचिवालय वा केन्द्रीय कमिटीबाट विशेष महाधिवेशनमा जाने निर्णय भयो भने हस्ताक्षर अभियान स्वतः रोकिन्छ,’ अभियान चलाइरहेका नेताको भनाइ थियो ।
अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेको हस्ताक्षर अभियानमा संसदीय राजनीतिमा २०४८ सालदेखि २०८२ सम्म आइपुग्दा सबैभन्दा कमजोर निर्वाचन परिणाम ल्याएको भन्दै विशेष महाधिवेशनको माग गरिएको छ ।
निर्वाचनमा प्रत्यक्षमा १६५ सिटमा ९ (५.४५ प्रतिशत) र समानुपातिकमा १३.४३ (प्रतिशत) मात्र मत प्राप्त गर्नु एमालेको अहिलेको समग्र कमिटी प्रणाली र नेतृत्वप्रति नै जनताको अविश्वास प्रकट गरेको उल्लेख छ ।
एमालेको विधान, २०४९ (दोस्रो विधान महाधिवेशन २०८२ र ११औं राष्ट्रिय महाधिवेशन २०८२ को संशोधनसहित) को धारा ७३ को (क) बमोजिम विशेष महाधिवेशनबाट नै सम्पूर्ण विषय टुंगो लगाउनुर्ने भएको भन्दै विशेष अधिवेशनको माग गरिएको हो । ‘हामी ११औं राष्ट्रिय महाधिवेशन प्रतिनिधिहरूले कम्युनिस्ट आन्दोलन र एमालेको रक्षा र हितका लागि हस्ताक्षर गरी केन्द्रीय कमिटीमार्फत विशेष महाधिवेशन छिटोभन्दा छिटो माग गर्दछौं,’ अनौपचारिक रुपमा तयार गरेको पत्रमा भनिएको छ ।
निर्वाचनमा पार्टी सानो आकारमा खुच्चिएपछि पार्टी पुनर्गठनको पक्षमा उभिएका नेताहरू उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव योगेश भट्टराई, पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डे, नेता कर्ण थापा, आनन्द पोखरेललगायत छन् ।
