बाँकेको विकासका लागि प्रधानमन्त्री शाहलाई प्रतिनिधिसभा सदस्य राईद्वारा ध्यानाकर्षण

पूर्वाधारतर्फ नेपालगञ्ज–नयाँ दिल्ली सीधा हवाई उडान सञ्चालनका लागि आवश्यक पहल गर्न, नेपालगञ्जमा आधुनिक क्रिकेट रंगशाला निर्माण गर्न तथा एकीकृत भन्सार जाँच चौकी (आईसीपी)लाई स्तरोन्नति गरी सुक्खा बन्दरगाहका रूपमा विस्तार गर्न माग गरिएको छ।

चैत्र २४, २०८२

रुपा गहतराज

House of Representatives member Rai draws attention of Prime Minister Shah for Banke's development

What you should know

नेपालगञ्ज — प्रतिनिधिसभा सदस्य मोहम्मद इस्तियाक राईले बाँकेको समग्र विकासका लागि विभिन्न महत्त्वपूर्ण विषय उठाउँदै प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष ध्यानाकर्षण-पत्र बुझाएका छन् ।

लुम्बिनी प्रदेशका सांसदहरूसँग सोमबार भएको छलफलमा प्रतिनिधिसभा सदस्य राईले स्वास्थ्य, शिक्षा, पूर्वाधार र बाँकेको समग्र विकासलाई समेटेर २० बुँदे योजना पेस गरेको बताए। 'पूर्वाधार, स्वास्थ्य, शिक्षा तथा सामाजिक क्षेत्रका सुधारका लागि प्राथमिकताका साथ योजना अघि बढाउन आग्रह गरेको छु,' उनले भने ।

पूर्वाधारतर्फ नेपालगञ्ज–नयाँ दिल्ली सीधा हवाई उडान सञ्चालनका लागि आवश्यक पहल गर्न, नेपालगञ्जमा आधुनिक क्रिकेट रंगशाला निर्माण गर्न तथा एकीकृत भन्सार जाँच चौकी (आईसीपी)लाई स्तरोन्नति गरी सुक्खा बन्दरगाहका रूपमा विस्तार गर्न माग गरिएको छ।

साथै नौबस्ता औद्योगिक क्षेत्रलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन र बाढी तथा डुबान नियन्त्रणका लागि राप्ती नदी लगायतका क्षेत्रमा तटबन्ध निर्माण गर्नुपर्ने आवश्यकता औंल्याइएको छ। स्वास्थ्य क्षेत्रतर्फ भेरी अस्पताललाई विशिष्टीकृत अस्पतालका रूपमा स्तरोन्नति गर्नुपर्ने, चिकित्सक तथा प्राविधिक जनशक्ति अभाव हटाउनुपर्ने र गम्भीर रोगको उपचारका लागि आवश्यक सेवा विस्तार गर्नुपर्नेमा जोड दिइएको छ। साथै पालिकास्तरका अस्पताल तथा स्वास्थ्य चौकीहरूलाई आधुनिक बनाउँदै प्रसूति सेवासहितको सुविधा विस्तार गर्नुपर्ने उल्लेख गरिएको छ।

शिक्षा क्षेत्रअन्तर्गत नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाका विद्यालयहरूमा डिजिटल शिक्षण प्रणाली विस्तार गर्न तथा महेन्द्र बहुमुखी क्याम्पसलाई क्षेत्रीय विश्वविद्यालयका रूपमा विकास गर्न प्रस्ताव गरिएको छ। भेरी प्राविधिक शिक्षालयलाई स्तरोन्नति गर्दै प्राविधिक जनशक्ति उत्पादनमा जोड दिनुपर्ने पनि उल्लेख गरिएको छ।

सामाजिक क्षेत्रमा अन्तरधार्मिक सहिष्णुता र सामाजिक एकता प्रवर्द्धन गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्नुपर्ने, धार्मिक पर्यटन विकासका लागि मन्दिर, मस्जिद, गुम्बालगायतका धार्मिक स्थलहरूको प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ। साथै लागूऔषध दुर्व्यसन नियन्त्रण तथा युवाहरूलाई खेलकुद र सांस्कृतिक गतिविधिमा संलग्न गराउने कार्यक्रम आवश्यक रहेको उल्लेख छ। यसैगरी कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै मल अभावलगायत समस्याको दीर्घकालीन समाधानका लागि विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने माग गरिएको छ।

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully