प्रधानमन्त्री शाहसमक्ष पाल्पाका सांसद रानाको ३१ बुँदे माग 

लुम्बिनी प्रदेशका सांसदहरूसँग भएको छलफलमा रानाले समग्र लुम्बिनी प्रदेशलाई समेटेर योजना पेस गरेको बताए । उनले समग्र प्रदेश र पाल्पाका क्षेत्रगत विषयमा योजना पेस गरेको बताए ।

चैत्र २३, २०८२

माधव अर्याल

Palpa MP Rana presents 31-point demands to Prime Minister Shah

पाल्पा — पाल्पा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सन्दीप रानाले प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष ३१ बुँदे माग प्रस्तुत गरेका छन् । लुम्बिनी प्रदेशका सांसदहरूसँग भएको छलफलमा रानाले समग्र लुम्बिनी प्रदेशलाई समेटेर योजना पेस गरेको बताए । उनले समग्र प्रदेश र पाल्पाका क्षेत्रगत विषयमा योजना पेस गरेको बताए । 

रानाले पाल्पाको रामपुर–आर्यभञ्ज्याङ हुँदै कपुरकोट सडक खण्डले पाल्पा, अर्घाखाँची, प्यूठान, रोल्पा हुँदै सल्यान जोड्ने सडक लुम्बिनी प्रदेश सरकारको गौरव योजनामा समावेश गरिए पनि केन्द्रबाट नै प्राथमिकताका साथ ध्यान दिई सडक सम्पन्न गर्न आवश्यक बजेट विनियोजन गर्न माग गरेका छन् । प्राकृतिक तथा सांस्कृतिक पर्यटनको यथेष्ट सम्भावना भएको निस्दी गाउँपालिका–३, झिरुवास काउलेडाँडा कवुलियती वनलाई मध्यनजर राख्दै अरुणखोला–जलुके–मित्याल–ढुंगानाबेंसी–बेलडाँडा हुँदै रामपुर जोड्ने सडकलाई स्तरोन्नतिसहित कालोपत्र गर्न आवश्यक बजेट विनियोजनको माग गरेका छन् । 

सांसद रानाले भारत र चीनलाई जोड्ने कालीगण्डकी करिडोर राजमार्गलाई भारत तथा चीनसँगको परस्पर व्यापारका लागि मुख्य वाणिज्य राजमार्गका रूपमा विकास गरी नेपालले ट्रान्जिटको लाभ लिनका लागि अधुरो रहेको सडक खण्डलाई शीघ्र सम्पन्न गर्ने योजना पेस गरेका छन् । सिद्धार्थ राजमार्गको बाँसटारी–माडीफाँट–झडेवा–रहवास–ताकातुङ–जल्पा–पूर्वखोला–ज्यामिरे–मित्याल–सहलकोट–वाँकामलाङ हुँदै कालीगण्डकी करिडोरसम्म जोड्ने सांस्कृतिक गौरव पर्यटन रिङरोडका रूपमा विकास गर्न अध्ययन तथा अवलोकन नीतिमा समावेश गर्न आग्रह गर्नुपर्ने योजना पेस गरेका छन् ।

कालीगण्डकी करिडोरअन्तर्गत केलादी–पन्थे–सहलकोट हुँदै झ्यालबास जोड्ने सडकको स्तरोन्नतिका लागि अध्ययन तथा अवलोकन नीतिमा प्राथमिकतामा राख्नुपर्ने, ताहुँ–ओमभन्ज्याङ–फोक्सिङकोट–रानीवास हुँदै कालीगण्डकी करिडोरसँग जोडिने सडकको स्तरोन्नतिका लागि आवश्यक बजेट विनियोजन गर्न माग गरेको उनले बताए । 

माडी चक्रपथको निर्माण तथा स्तरोन्नतिका लागि पर्याप्त र सुनिश्चित बजेट विनियोजन गर्न आग्रह गर्दै अँगाहाखोला–चिदियापानी फेदी–खहरे हुँदै झडेवा–दुम्कीबास सडक खण्डको निर्माण तथा स्तरोन्नतिका लागि आवश्यक बजेट तथा कार्यक्रम समावेश गर्न आग्रह गरेको बताए । 

पाल्पाका खानेपानी आयोजनाहरू अधुरा अवस्थामै रहेकाले त्यस्ता आयोजनाहरूको समयमै सम्पन्नताका लागि पर्याप्त बजेट विनियोजन तथा प्रभावकारी कार्यान्वयनको व्यवस्था गर्नुपर्ने, रम्भादेवी क्षेत्रको समुचित विकास, संरक्षण तथा व्यवस्थापनका लागि आवश्यक धार्मिक तथा पर्यटकीय पूर्वाधार निर्माण गर्न विशेष कार्यक्रम तथा बजेटको व्यवस्था गर्न माग गरेको रानाले बताए । वैदिक ग्रन्थहरूमा उल्लेखित कालीगण्डकी सभ्यतालाई संवर्द्धनका लागि कालीगण्डकी सभ्यता अध्ययन–अनुसन्धान संस्था स्थापना गर्न तथा कालीगण्डकी उपत्यका क्षेत्रलाई वैदिक सांस्कृतिक पर्यटन क्षेत्रका रूपमा विकास गर्न ‘वैदिक स्मार्ट सिटी’ बनाउने अवधारणाका लागि प्रयाप्त नीति तथा बजेट विनियोजन गर्न आग्रह गरेको उनले बताए । 

लघु सामुदायिक विद्युत् प्रणालीहरूलाई अनिवार्य रूपमा केन्द्रीय प्रसारण लाइनमा जोडी प्रत्येक घरमा पर्याप्त विद्युत् आपूर्ति व्यवस्था नीति लागु गर्न, पाल्पा–स्याङ्जा–तनहुँ–नवलपुर तथा समग्र कालीगण्डकीबासीलाई उपचार सेवा दिइरहेको रामपुर अस्पताललाई ट्रमा सेन्टरको रुपमा विकास गर्न योजना माग गरेको उनले बताए । विशेषज्ञ चिकित्सक, पर्याप्त दक्ष जनशक्ति र पूर्वाधारसहित सेवा विस्तारको लागि बजेट विनियोजन गर्नुपर्ने, पालिकास्थित नव–निर्मित पालिकास्तरीय अस्पतालहरूमा अनिवार्य रूपमा विशेषज्ञ चिकित्सकको व्यस्था गर्न आग्रह गरेको उनले बताए । 

विद्यालयहरुमा माटो सुहाउँदो संस्कारसहितको व्यवहारिक शिक्षा लागू गर्न आवश्यक नीति तथा व्यवस्थापन गर्नुपर्ने, ग्रामीण क्षेत्रमा उच्च शिक्षाका लागि खोलिएका सामुदायिक बहुमुखी क्याम्पसहरूलाई व्यवहारिक तथा प्रभावकारी दक्ष जनशक्ति उत्पादन गर्न सक्षम बनाउँदै शैक्षिक गुणस्तर अभिवृद्धिका लागि आवश्यक विशेष बजेट विनियोजन गर्न माग गरेको रानाले बताए । 

रैथाने बाली संरक्षणलाई बढावा दिई, माटो परीक्षणको आधारमा 'एक वडा–एक कृषिबाली उत्पादन नीति' लागू गरी कृषि बाली प्रवर्द्धन तथा व्यवस्थापन गर्नुपर्ने, परम्परागत लघु उद्योगहरूलाई प्रवर्द्धन गरी पिछडिएको भनिएका समुदायलाई श्रम तथा सामाजिक सम्मानसहित उद्योग संवर्द्धन एवम् पुन:स्थापना गर्ने नीति बनाउन उनले माग गरेका छन् । कृषि औजार बनाउने आरन, दैनिक उपभोग्य भाँडाकुँडा बनाउने आरन उद्योग, माटोजन्य, काठजन्य, बाँसजन्य दैनिक उपभोग्य भाँडाजन्य वस्तुहरू उत्पादन गर्ने उद्योग, पाल्पाली ढाका उद्योग तथा पाल्पाली करुवा उद्योगलाई प्रवर्द्धन गर्दै पुन:स्थापनाका लागि प्रोत्साहनमूलक बजेट विनियोजन गर्न प्रधानमन्त्री शाहसँग भएको छलफलमा योजना माग गरेको उनले बताए । 

तानसेनस्थित भगवती मन्दिरको जीर्णोद्धार गरी भगवती जात्रालाई राष्ट्रिय उत्सव पर्वको रुपमा मनाउने तथा राष्ट्रिय पात्रोमा सार्वजनिक बिदा दिनुपर्ने, लोप हुँदै गएको पहाडी काठे गाई, जसको दूध, दही, घिउ तथा गौमूत्र औषधीय गुणयुक्त हुन्छ, यसको पहाडी नस्ल संरक्षणका लागि संरक्षण केन्द्रको स्थापना गर्न आवश्यक बजेट विनियोजन गर्न आग्रह गरेको उनले बताए । 

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई व्यवस्थित रूपमा यथाशीघ्र सञ्चालन गर्नुपर्ने, लुम्बिनी विकास क्षेत्रलाई गुरुयोजना अनुसार यथाशीघ्र कार्यान्वयन गर्नुपर्ने, कोइलाबास नाकालाई पुनः सञ्चालन गरी कोइलाबास–भालुवाङ– प्यूठान–पूर्वी रुकुम हुँदै डोल्पासम्म पुग्ने सहिद मार्गलाई स्तरोन्नतिसहित कालोपत्र गर्नुपर्ने माग रानाले राखेका छन् । 

सुनौली र रुपैडिया नाकामा सुख्खा बन्दरगाह विकासलाई प्राथमिकतामा राखी यात्रुहरूको आवतजावतमा आवश्यक सुरक्षा कायम गर्नुपर्ने, सीमावर्ती क्षेत्रका बासिन्दाहरूका लालपुर्जावाला जग्गाहरूलाई बैंक तथा वित्तीय कारोबारमा सहज पहुँच सुनिश्चित गराउनुपर्ने पनि रानाको माग छ । भैरहवास्थित विशेष आर्थिक क्षेत्रलाई मूर्त रूप दिई लुम्बिनी प्रदेशमा अति आवश्यक रहेको कृषि मल कारखाना स्थापना गर्न प्राथमिकता दिन हुन प्रधानमन्त्री शाहसमक्ष माग राखेको उनले बताए । 

रूपन्देहीको भैरहवा–बुटवल क्षेत्रलाई नेपालको प्रमुख वाणिज्य सहरका रूपमा विकास गर्नुपर्ने, प्यूठान–स्वर्गद्वारी, अर्घाखाँची–छत्रदेव, पाल्पा–भैरवस्थान, गुल्मी–रिडी संगमस्थलहरूलाई अन्तर्राष्ट्रिय सीमा नाकासँग सुगम सडक पहुँचसहित जोड्दै सांस्कृतिक पर्यटनमार्फत रोजगारी सिर्जना गर्नुपर्ने, बाह्य पर्यटक प्रवर्द्धन गर्न अयोध्या र गुल्मीस्थित श्रीङ्गी तपोस्थल रेसुंगाबीच सांस्कृतिक सम्बन्ध स्थापित गर्नुपर्ने उनले बताए । 

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरमा गुणस्तरीय पहिचान दिलाई विश्वभरिका बौद्ध विद्वान्‌हरूको केन्द्रका रूपमा विकास गर्न प्राथमिकता दिनुपर्ने, दाङस्थित नेपाल संस्कृत विश्वविद्यालयलाई व्यवस्थित गरी अन्तर्राष्ट्रियस्तरको संस्कृत विश्वविद्यालयका रूपमा विकास गर्न आग्रह गरेको उनले बताए ।

सिक्टा सिँचाइ आयोजना, बाँकेलाई यथाशीघ्र पूर्णता दिनुपर्ने, बाँकेस्थित सुशील कोइराला परोपकार क्यान्सर अस्पताललाई पर्याप्त दक्ष जनशक्ति तथा पूर्ण पूर्वाधारसहितको सुविधासम्पन्न अस्पतालका रूपमा विकास गर्नुपर्ने रानाको ३१ बुँदे योजनाअन्तर्गत छ । 

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully