उपसभामुखमा नेपाली कम्युनिस्ट पार्टीको पनि दाबी

नेकपा नेता वर्षमान पुनले अन्य दलहरूसँग पनि यसबारे छलफल गर्ने जानकारी दिए।

चैत्र २२, २०८२

कान्तिपुर संवाददाता

Nepali Communist Party also claims the post of Deputy Speaker

काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टीले उपसभामुख पदमा दाबी गरेको छ।

सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्याल निर्वाचित भएसँगै नेकपाले उपसभामुखमा दाबी गरेको हो। नेकपा नेता वर्षमान पुनले अन्य दलहरूसँग पनि यसबारे छलफल गर्ने जानकारी दिए।

‘उपसभामुखमा हाम्रो दाबी छ,’ आइतबारको प्रतिनिधि सभा बैठकपछि संसद् भवन परिसरमा कुराकानी गर्दै उनले भने, ‘भर्खर सभामुखको चयन सकिएको छ। हामी कुरा गर्दै छौं। अब हामी अन्य दलहरूसँग पनि छलफल गर्छौं।’

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि उपसभामुख पदमा दाबी गरेको छ।

एउटै दलले सभामुख र उपसभामुख दुवै पद लिन नपाइने संवैधानिक प्रावधानका कारण अब रास्वपा बाहेकका कुनै एक दलले उपसभामुख पाउनेछन्।

संवैधानिक निकायहरूमा नियुक्तिको सिफारिस गर्ने संवैधानिक परिषद्‍मा पनि उपसभामुख हुने भएकाले दलहरूले यो पदमा रुचि देखाएका हुन्।

प्रधानमन्त्रीको अध्यक्षता रहने संवैधानिक परिषद्‍मा प्रधानन्यायाधीश, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष र विपक्षी दलका नेता सदस्य रहन्छन्।

कान्तिपुर

Link copied successfully