उपसभामुखमा कांग्रेसको दाबी

संवैधानिक निकायहरूमा नियुक्तिको सिफारिस गर्ने संवैधानिक परिषद्‍मा पनि उपसभामुख हुने भएकाले दलहरुले यो पदमा रुची देखाएका हुन्।

चैत्र २२, २०८२

कान्तिपुर संवाददाता

Congress claims the post of Deputy Speaker

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोरप्रसाद अर्याल (डीपी) निर्विरोध निर्वाचित सभामुख भइसकेका छन्। 

नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी लगायतका दलले उम्मेदवारी नदिएपछि उनलाई आइतबार सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा भएको हो। 

चुनावपछि निर्वाचित भएको संसद्ले सभामुख निर्वाचित गरेसँगै अबको कार्यसूची उपसभामुखको निर्वाचन हुने छ। सबैभन्दा ठूलो दलले सभामुख लिइसकेपछि अब अर्को कुनै दलले उपसभामुख पाउने छ। 

एउटै दलले सभामुख र उपसभामुख दुवै पद लिन नपाईने संवैधानिक प्रवन्धका कारण अब रास्वपा बाहेकका कुनै एक दलले उपसभामुख पाउने छन्। 

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपसभामुखमा आफ्नो दाबी  राखेको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले ठूलो दलको हैशियतले रास्वपाले सभामुख लिएपछि प्रतिनिधिसभाको प्रतिपक्ष र राष्ट्रियसभाको पहिलो हैशियतमा कांग्रेसले उपसभामुख पाउनुपर्ने दाबी गरे ।

‘माग्ने र लिने भन्दा पनि संस्कार र संस्कृतिको बिषय हो । अर्को हाउस संचालनमा कस्तो खालको अभ्यास गर्ने भन्ने बिषय हो,’ उनले भने, ‘हामीले सहकार्य र ससहमतिलाई प्राथमिकतामा नै राखेका छौं । प्रतिनिधिसभाको प्रमुख प्रतिपक्ष दललाई उपसभामुख दिदा संसदीय संस्कृति र संस्कारको विकास पनि हुन्छ ।’

संवैधानिक निकायहरूमा नियुक्तिको सिफारिस गर्ने संवैधानिक परिषद्‍मा पनि उपसभामुख हुने भएकाले दलहरुले यो पदमा रुची देखाएका हुन्। 

प्रधानमन्त्रीको अध्यक्षता रहने संवैधानिक परिषद्‍मा प्रधानन्यायाधीश, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष र विपक्षी दलका नेता सदस्य रहन्छन्। 

कान्तिपुर

Link copied successfully