संसद्‍मा कमजोर प्रतिपक्ष हुँदा प्रेसले मुख्य भूमिका खेलोस् : मुख्यमन्त्री पाण्डे

मुख्यमन्त्री‘लोकतन्त्रमा सामुदायिक र निजी क्षेत्रका सञ्चारमाध्यमलाई अंकुश लगाउन मिल्दैन,’ उनले भने, ‘संघीयताको मर्मविपरीत काम गर्दा संघीयता कमजोर बन्छ ।’

चैत्र २०, २०८२

प्रकाश बराल

Press should play a key role when opposition is weak in Parliament: Chief Minister Pandey

What you should know

काठमाडौँ — गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पत्रकारिताले बलियो प्रतिपक्षको भूमिका खेल्नुपर्ने बताएका छन् ।  उनले संसद्‍मा कमजोर प्रतिपक्ष, बलियो सरकार भएको अवस्थामा त सञ्चार क्षेत्र झन् बलियो चाहिएको बताए ।

बलियो सरकारले साना र स्वरोजगारमूलक सञ्चारमाध्यमलाई अप्ठ्यारो पर्ने गरी विज्ञापनमा रोक लगाउन खोज्नु राम्रो नभएको उनले बताए । नेपाल पत्रकार महासंघ बागलुङको आयोजनामा शुक्रबारदेखि सुरू भएको बागलुङ मिडिया मेलाको उद्घाटन गर्दै पाण्डेले लोकतन्त्रमा स्वतन्त्र पत्रकारिताको सम्मान गर्नुपर्नेमा आदेशले मुख बन्द गर्ने प्रयास गर्न नपाइने बताए ।

मुख्यमन्त्री पाण्डेले कसैको आदेशलाई कानुन मान्न नसकिनेसमेत बताएका छन् । उनले संविधान र कानुनमाथि कोही नरहेको पनि टिप्पणी गरे । सञ्चार मन्त्रालयले गरेको हालैको परिपत्रलाई लक्षित गर्दै पाण्डेले एक महिना पनि नटिक्ने आदेशको संज्ञा दिए । 

‘लोकतन्त्रमा सामुदायिक र निजी क्षेत्रका सञ्चारमाध्यमलाई अंकुश लगाउन मिल्दैन,’ उनले भने, ‘संघीयताको मर्मविपरीत काम गर्दा संघीयता कमजोर बन्छ ।’ उनले एउटै व्यक्ति तल्लो तहमा बस्दा संघले असहयोग गरेको भन्ने र संघमा गएपछि स्थानीय र प्रदेशलाई हेप्ने काम राम्रो नभएको बताए ।

वर्तमान प्रधानमन्त्री पनि महानगरपालिकाको प्रमुख भएर प्रधानमन्त्री बनेको कुरा हेक्का राख्नुपर्ने उनले बताए । सञ्चार मान्त्रालयबाट प्रदेश सरकारमा पनि परिपत्र आएको उनले बताए । त्यो परिपत्रले संघीयताको अधिकार कुण्ठित भएको समेत दाबी गरे ।

प्रदेश सरकार सञ्चार क्षेत्रको विकासका लागि बरु थप काम गर्न तयार रहेको पनि उनले बताए । संविधानले संघ, प्रदेश र स्थानीय तहको उत्तिकै महत्त्वको मानेको भन्दै संविधान संशोधन गरेर अधिकार कटाउन पाइने तर आदेशमा चल्न नहुने बताए । । 

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रामप्रसाद दाहालले पनि सरकारको निर्णय निरंकुशतावादी भएको आरोप लगाए । ‘हामी न्युजरुममा बसेर काम गर्न चाहन्छौं, तर सरकारले सडकमा धकेल्दैछ,’ उनले भने, ‘सरकारसँग न्यूनतम प्रेस स्वतन्त्रताको विश्वास छ भने यो निर्णय फिर्ता गरोस् ।’ उनले वर्तमान सरकारको संघीयताप्रतिको विश्वास जाच्ने बेला आएको पनि बताए ।

मेलामा १० वटा समूहगत छलफल, परम्परागत सञ्चार माध्यमको प्रदर्शनी, भित्तेपत्रिका प्रतियोगिता, फोटो प्रदर्शनी, सांस्कृतिक क्रियाकलापलगायत समावेश गरिएको नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापाले बताए ।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully