उनले उपसभामुखको चयनमा संवैधानिक व्यवस्था, व्यावहारिक पक्ष र विगतका अभ्यासहरूलाई मध्यनजर गरिने स्पष्ट पारे ।
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उपसभामुख चयनको विषयमा पार्टीले अहिले नै कुनै छलफल सुरु नगरेको स्पष्ट पारेका छन्।
शुक्रबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पहिला सभामुखको निर्वाचन प्रक्रिया सम्पन्न भएपछि मात्र उपसभामुखको बारेमा छलफल अगाडि बढ्ने बताए ।
'हामी अहिले उपसभामुखको छलफलमा प्रवेश गरेका छैनौँ,' लामिछानेले भने, 'पहिला सभामुखको काम सकौँ, त्यस पछाडि मात्र उपसभामुखबारे छलफल गरौँला ।'
उनले उपसभामुखको चयनमा संवैधानिक व्यवस्था, व्यावहारिक पक्ष र विगतका अभ्यासहरूलाई मध्यनजर गरिने स्पष्ट पारे । 'संवैधानिक व्यवस्था र व्यावहारिक परिस्थिति दुवैलाई हेरेर हामी अगाडि बढ्छौँ,' लामिछानेको भनाइ छ, 'जुन स्पिरिटमा मैले संसदमा आफ्नो मन्तव्य राखेको थिएँ, पार्टी त्यही स्पिरिटमा अडिग छ ।'
लामिछानेले सभामुखको भूमिका निष्पक्ष र मर्यादित हुनुपर्नेमा जोड दिए। सभामुख पदमा निर्वाचित भइसकेपछि व्यक्ति कुनै विशेष राजनीतिक दलको नभई सिङ्गो सदन र सबै सांसदहरूको साझा अभिभावक हुनुपर्ने उनले बताए।
