'प्रतिनिधिसभाको आजको बैठकमा नेकपा एमाले दल नेताको हैसियतले रामबहादुर थापाले व्यक्त गर्नुभएको विचार पार्टीका स्थापित नीति र मान्यताविपरीत छन्,’ पौडेलले फेसबुक पेजमा भनेका छन् ।
काठमाडौँ — एमाले संसदीय दलका नेता रामबहादुर थापाले संसद्को बैठकमा राखेको धारणा पार्टीको स्थापित नीति र मान्यताविपरीत भएको अर्का उपाध्यक्ष विष्णु पौडेलले बताएका छन् ।
थापाले बिहीबार संसद्को बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीको विजय हुनुमा विभिन्न शक्तिको चलखेल भएको बताएका थिए । उनको भनाइप्रति पौडेलले आपत्ति जनाएका छन् ।
'प्रतिनिधिसभाको आजको बैठकमा नेकपा एमाले दल नेताको हैसियतले रामबहादुर थापाले व्यक्त गर्नुभएको विचार पार्टीका स्थापित नीति र मान्यताविपरीत छन्,’ पौडेलले फेसबुक पेजमा भनेका छन्, 'यस सम्बन्धमा भोलि आयोजना गरिएको नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठकमा गम्भीरतापूर्वक छलफल हुने र उचित निर्णय हुने अपेक्षा गरेको छु ।’
संसद्मा थापाले रास्वपाको विजयमा नेपाली सेनासहित विभिन्न ’दृश्य–अदृश्य’ शक्तिको निर्णायक भूमिका रहेको आरोप लगाए ।
प्रतिनिधिसभाको आजको बैठकमा उनले मुख्यतः सेना, ब्युरोक्रेसी, सुशीला सरकार, कार्की आयोग, बारबार फाउन्डेनजस्ता संस्था र पात्रको निर्णायक भूमिका रहेको आरोप लगाएका हुन् ।
’यो जादुमय विजयमा क-कसले निर्णायक भूमिका निर्वाह गरे असंख्य तथ्यले स्पष्ट पार्छन्,’ उनले भने, ’अदृश्य शक्तिहरु टीओबी, एआई, अल्गोरिदम, गोयबल्सहरु जसले राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, संघीयता, शान्ति र समृद्धिका नायकहरुलाई खुंखार खलनायक र हत्याराका रूपमा स्थापित गरे । देश जलाउने र आफ्नो राष्ट्रिय पहिचान मेटाउने खलपात्रलाई महानायक बनाए ।’
