अब फेरि कसैले कहिल्यै रगत बगाउन नपरोस् : आङ्देम्बे

‘हामी एकै थलोमा भएर पनि भिन्नभिन्न आस्था र विचार बोकेर यहाँ छोँ, तर भिन्न रहे पनि एउटै नौकामा छौँ । डुबे सबै सँगै डुब्छौँ, उठे सबै सँगै उठ्छौँ, दल भिन्न होला, देश एउटै हो । त्यसैले आज इमानको पसिना बगाउने संकल्प गरौँ, अनि संकल्प गरौँ अब फेरि कसैले कहिल्यै रगत बगाउन नपरोस्,’ उनले भने ।

चैत्र १९, २०८२

कान्तिपुर संवाददाता

May no one ever shed blood again: Angdembe

What you should know

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल कांग्रेस नेता भीष्मराज आङ्देम्बेले मुलुकको राजनीतिक इतिहास सम्झँदै अब हिंसात्मक संघर्षको पुनरावृत्ति नहोस् भन्ने संकल्प गर्नुपर्ने बताएका छन् । 

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै आङ्देम्बेले आगामी दिनमा फेरि कसैले कहिल्यै रगत बगाउन नपरोस् भन्ने साझा प्रतिबद्धता गर्न पनि आग्रह गरेका हुन् ।

राष्ट्र निर्माणको यात्रामा विभिन्न कालखण्डमा भएका आन्दोलन र त्यागको स्मरण गर्दै जनतामा नयाँ आशा र विश्वास जगाउनुपर्नेमा उनले जोड दिए ।  उनले फरक–फरक विचार र आस्था बोके पनि सबै एउटै थलोमा उभिएको बताए । 

नेता आङ्देम्बेले दलगत भिन्नता भन्दा माथि उठेर राष्ट्रप्रति इमान्दार बन्नुपर्ने उल्लेख गर्दै सबैलाई ‘इमानको पसिना बगाउने’ संकल्प गर्न आग्रह गरे । ‘हामी एकै थलोमा भएर पनि भिन्नभिन्न आस्था र विचार बोकेर यहाँ छोँ, तर भिन्न रहे पनि एउटै नौकामा छौँ । डुबे सबै सँगै डुब्छौँ, उठे सबै सँगै उठ्छौँ, दल भिन्न होला, देश एउटै हो । त्यसैले आज इमानको पसिना बगाउने संकल्प गरौँ, अनि संकल्प गरौँ अब फेरि कसैले कहिल्यै रगत बगाउन नपरोस्,’ उनले भने ।  

नेता आङ्देम्बेले बितेका ३५ वर्षमा केही पनि भएन भन्ने भाष्यलाई चिर्न आवश्यक रहेको बताए । उनले १० वर्षे सशस्त्र संघर्ष, भूकम्प, कोरोनालगायतका प्रतिकूल समयमा पनि देशमा विकास भएको दाबी गरे । उनले संसदीय प्रणाली सबैभन्दा उत्कृष्ट प्रणाली भएको बताए ।

संसदीय प्रणालीमाथि प्रहार गर्ने शक्तिहरूसमेत हाल संसद्‍मा नै शालीनतामा साथ बसेको उल्लेख गरे । उनले जेन-जी विद्रोहलाई निष्कर्षमा पुर्‍याउन कांग्रेस प्रतिबद्ध रहेको उल्लेख गरे । कांग्रेस समयसँगै परिर्वतन हुन तयार रहेको उनको भनाइ छ । 

कान्तिपुर

Link copied successfully