छ महिनाभित्र नेकपाको महाधिवेशन गर्ने दाहालको प्रस्ताव

बिहीबार केन्द्रीय कार्यसंयोजन समितिमा उनले लिखित रुपमा महाधिवेशनको प्रस्ताव गरेका हुन् ।

चैत्र १९, २०८२

गंगा बीसी

Dahal proposes to hold NCP general convention within six months

काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले छ महिनाभित्र एकता महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् । 

गत कात्तिकमा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकीकरण भएपछि उनले महाधिवेशनको प्रस्ताव औपचारिक रुपमा अघि सारेका हुन् । 

बिहीबार केन्द्रीय कार्यसंयोजन समितिमा उनले लिखित रुपमा महाधिवेशनको प्रस्ताव गरेका हुन् । 'अबको छ महिनाभित्र पार्टीको एकता राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने’ उनले अघि सारेको प्रस्तावमा भनिएको छ ।

उनले नेकपाले तत्कालै सांगठनिक, वैचारिक, आर्थिक र प्राविधिक कामको ठोस कार्ययोजना बनाएर अगाडि बढ्नुपर्ने बताएका छन् । 'पार्टीको पुनर्गठन र रूपान्तरण अभियान व्यापक रूपमा सञ्चालन गर्नुपर्ने भएको छ,’ उनले संगठन समायोजन र निर्माणलाई पूर्णता दिने प्रस्तावमा भनेका छन्, 'पार्टी संगठन र पार्टीसम्बद्ध जनवर्गीय संगठनहरूलाई नयाँ ढंगले पुनर्गठन र रूपान्तरण गर्न जरुरी छ। त्यसका लागि एक महिनाभित्र पालिका तहसम्म भएका सबै संगठन समायोजन गर्ने र नभएका स्थानमा नयाँ संगठन निर्माण गर्ने, तीन महिनाभित्र सबै वडामा संगठन निर्माण गरिसक्ने ।'

उनले तीन महिनाभित्र पार्टी सदस्यता नवीकरण गरिसक्ने र पाँच महिनाभित्र वडा, पालिका, जिल्ला र प्रदेश अधिवेशन गर्ने जनाएका छन् । 'पार्टी संगठनको मात्र होइन, नेतृत्वको पनि पुनर्गठन र रूपान्तरण गर्न जरुरी छ । त्यसका निम्ति पनि ठोस कार्ययोजना बनाएर अगाडि बढ्नुपर्छ,’ प्रस्तावमा उल्लेख छ । 

त्यस्तै पार्टीका नेता तथा कार्यकर्ताको कार्यशैली, जीवनशैली र आचरण सुधार गर्न आवश्यक भएको भन्दै ठोस कार्ययोजना अघि बढाउने नेकपाको तयारी छ ।

बैठकमा उनले निर्वाचनको समीक्षा प्रस्तुत गरेका थिए । ’निर्वाचन सम्पन्न भयो । परिणाम हाम्रो पक्षमा सकारात्मक आएन । तर हामी जनताको जनादेशको सम्मान र परिणाम स्वीकार गर्दै सरकारका राम्रा कामहरुको समर्थन एवम् गलत कामको विरोध गर्ने तथा संसदमा रचनात्मक प्रतिपक्षको भूमिका खेल्छौं,’ उनले भने, ’हामी बाह्र बुँदे र विस्तृत शान्ति सम्झौताका पक्षधर शक्तिहरु, लोकतान्त्रिक गणतन्त्र र संविधानसभाबाट संविधान निर्माण गरेका शक्तिहरु राष्ट्रिय स्वाधिनताको रक्षा, क्रान्तिका उपलब्धिहरुको संरक्षण र जनताका मुद्दाहरुमा एकताबद्ध हुनुपर्छ । यो एकता र सहकार्यका लागि हाम्रो पार्टीले समन्वय र नेतृत्व गर्नेछ ।’ 

उनले नयाँ सन्दर्भमा हामीले नेकपालाई प्रविधिमैत्री पार्टी बनाउने, पार्टीको माथिदेखि तलसम्म समग्र पुनर्गठन गर्ने बताए । 'यो अभियानलाई महाधिवेशनबाट पूर्णता दिनेछौं । त्यसरी नै कम्युनिष्ट, वामपन्थी र समाजवादी पार्टीहरुसँग एकता प्रक्रियाको अगुवाइ हामीले गर्नेछौं,’ उनको भनाइ थियो । 

सहसंयोजक माधवकुमार नेपालले निर्वाचन परिणामबाट विचलित र निराश नभई, नयाँ परिस्थितिमा नयाँ ढंगले उच्च मनोबल र उत्साहसाथ अघि बढ्ने बताए । ’अब पार्टीमा शुद्धीकरण, समग्र पुनर्गठन र पुनर्जागरण अनिवार्य भएको छ,’ उनले भने ।

गंगा

Link copied successfully