संघीय सरकारले मन्त्रिपरिषद्को आकार घटायो ? प्रदेशले कहिले घटाउने ?

अहिले कोशीमा मुख्यमन्त्रीको कार्यालयसहित १० मन्त्रालय र १२ जना मन्त्री छन् । मधेश प्रदेशमा मुख्यमन्त्रीसहित १० जना मन्त्री छन् । बागमती–१४, गण्डकी–८ लुम्बिनी–१२, कर्णाली–८ र सुदूरपश्चिमममा–९ सदस्यीय मन्त्रिपरिषद् छन् ।

चैत्र १८, २०८२

राजेश मिश्र

Has the federal government reduced the size of the Council of Ministers? When will the provinces reduce it?

What you should know

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहले संघमा शासकीय सुधारका योजनाबद्ध कार्यक्रमसँगै त्यसमा सुधारको संकेत नै दिइसकेका बेला त्यसलाई सघाउन प्रदेश सरकारहरू कहिले बढ्ने ? प्रश्न उठेको छ । 

संघले शासकीय सुधारमा राम्रो सुरूवातको नेतृत्व गरेको छ । प्रदेश सरकारहरू यसमा सहयोगी हुन सक्नुपर्छ ।  -काशीराज दाहाल, प्रशासनविद्  ७ वटा प्रदेशमा कांग्रेसले ४ वटाको र एमालेले ३ वटा प्रदेश सरकारको नेतृत्व गरिरहेका छन् । प्रधानमन्त्री शाहले संघीय मन्त्रालयको संख्या २१ बाट झारेर १७ बनाएका छन् । २५ जनासम्म मन्त्री राख्न सक्ने संवैधानिक व्यवस्था रहे पनि उनले आफूसहित १५ सदस्यीय मन्त्रिपरिषद् बनाएका छन् । सरकार बनेकै दिन शाह नेतृत्वको मन्त्रिपरिषदले समयावधि र कार्यान्वयन गर्ने जिम्मेवार निकाय तोकेर शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची पनि ल्याएको छ ।

प्रशासन, अर्थ तथा संघीयताका जानकारहरूले संघ सरकारले चालेको कदमको प्रशंसा गर्दै यस्तो सुधारका कदम प्रदेश सरकारहरूले पनि चाल्नुपर्ने बताएका छन् । प्रदेशमा कांग्रेस, एमाले, नेकपा र मधेशवादीले सरकार चलाइरहेका छन् । २१ फागुनमा भएको मतदानमार्फत जनताले उनीहरूले चलाइरहेको शासन व्यवस्थालाई अस्वीकार गरेकाले प्रदेश सरकारको काममार्फत जनताको मन जित्ने अवसर उनीहरूका अगाडि छ ।

संघीयताविद् तथा राष्ट्रियसभाका पूर्व सदस्य खिमलाल देवकोटा रास्वपाको नेतृत्वमा संघमा बनेको नयाँ सरकारलाई साशकीय सुधारका पक्षमा प्रदेशहरूले सिकाउन सक्नुपर्नेमा त्यो गर्न नसके पनि कम्तीमा अब त्यसको अनुशरण गरेर बढ्नुपर्ने बताउँछन् । ‘प्रदेशमा धेरै मन्त्रालय र मन्त्री भए । गठबन्धनका नाममा झ्यालझ्यालमा मन्त्रालय र मन्त्री राखिए । त्यसले जनतामा प्रदेशप्रति नै निराशा र आक्रोश बढायो,’ उनले भने ‘त्यसलाई सुधार्ने अहिले राम्रो अवसर आएको छ । संघले गरेको सकारात्मक प्रयासलाई प्रदेशले पछ्याउनुपर्‍यो ।’ 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तयार पारेको सुशासन मार्गचित्रले प्रशासनिक खर्च कटौतीका लागि दिएका विभिन्न सुझावमा प्रदेशमा मन्त्रालयको संख्या घटाइनुपर्ने पनि उल्लेख छ ।  प्रशासनिक खर्च कटौतीका लागि प्रदेशमा मन्त्रालयको संख्या ७ मा सीमित गर्न सुझाव दिएको छ । तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीले १४ पुसमा सार्वजनिक निकायबाट हुने कार्यसम्पादनका सन्दर्भमा अध्ययन गरी प्रतिवेदन दिन प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्कीको नेतृत्वमा समिति गठन गरेकी थिइन् । उक्त समितिले तयार पारेको 'सुशासन मार्गचित्र २०८२'को प्रतिवेदनमा संविधानको मर्म र कार्यबोझको वस्तुनिष्ठ विश्लेषणका आधारमा प्रदेश मन्त्रालयहरूको संख्या ७ भित्र रहने गरी आवश्यक कानुनी प्रबन्ध गर्न भनिएको छ । 

यसअघि तयार भएका अन्य रिपार्टहरूले पनि प्रदेशमा बढीमा ७ वटा मन्त्रालय रहनुपर्छ भन्ने सिफारिस गरेको थियो । तर, त्यसको व्यावहारिक कार्यान्वयन भने भएका छैनन् । ०७४ को आमचुनावपूर्व नै संसद्को राज्यव्यवस्था समितिले संघ तथा प्रदेशमा रहने मन्त्रालयहरूको संख्याबारे अध्ययन गराएको थियो । प्रशासन तथा कानुनका जानकार काशीराज दाहालको अध्यक्षतामा गठन गरिएको अधिकारसम्पन्न संघीय प्रशासनिक पुनर्संरचना कार्यान्वयन समितिले संघमा १५ र प्रदेशहरूमा ५ देखि ७ वटा मन्त्रालय राख्न सिफारिस गरेको थियो । 

जसरी पनि सत्ता टिकाउने प्रवृतिको अन्त्य नगरिए आगामी प्रदेशको चुनाव पनि पुराना दलहरूका लागि प्रत्यूत्पादक हुनसक्छ : डिल्लीराज खनाल, अर्थविद् ०७३ सालमा संघीयता कार्यान्वयन तथा प्रशासन पुनर्संरचनासम्बन्धी तत्कालीन मुख्य सचिव सोमलाल सुवेदीको नेतृत्वमा गठन गरिएको अध्ययन समितिले पनि प्रदेशमा ७ वटा मन्त्रालयको सिफारिस गरेको थियो । २०७५ मा अर्थविद् डिल्लीराज खनालको नेतृत्वमा बनेको सार्वजनिक खर्च पुनरावलोकन आयोगले पनि प्रदेशमा मन्त्रालयको संख्या बढीमा ७ राख्न भनेको थियो ।

त्यस्तै, राष्ट्रिय सभाले ०७९ मा बनाएको संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले पनि प्रदेशमा मन्त्रालय र मन्त्रीको संख्या घटाउन सिफारिस गरेको छ । त्यसका लागि संविधानमा संशोधनको पनि सुझाव दिएको छ । संविधानमा प्रदेशमा मन्त्री संख्याका त्यस प्रदेशमा कायम रहेको प्रदेशसभा सदस्यको २० प्रतिशतभन्दा नबढ्ने गरी हुनुपर्ने भनेको छ ।

उक्त समितिका संयोजकसमेत रहेका संघीयता विज्ञ देवकोटाले कम्तीमा ५ जना रहनेगरी प्रदेशसभा सदस्यको १० प्रतिशतभन्दा नबढ्नेरी मन्त्री राख्न सकिने गरी संविधानमा संशोधनको सिफारिस गरिएको बताए । संविधानको धारा १६८(९) मा भनिएको छ– प्रदेश प्रमुखले मुख्यमन्त्रीको सिफारिसमा प्रदेशसभाका सदस्यमध्येमा समावेशी सिद्धान्तबमोजिम मुख्यमन्त्रीसहित प्रदेशसभाका कुल सदस्य संख्याको बीस प्रतिशतभन्दा बढी नहुने गरी प्रदेश मन्त्रिपरिषद् गठन गर्नेछ ।

‘संविधानले अधिकतम संख्या भनेको हो । त्योभन्दा बढाउन पाइएन । तर, कम जति पनि राख्न पाइन्छ । संविधानले संघले २५ जना मन्त्री राख्न पाइने सुविधा दिए पनि प्रधानमन्त्री शाहले १५ जनाको मन्त्रिपरिषद् मात्रै बनाएका छन्,’ उनले भने ‘राजनीतिक लाभ, गठबन्धन र सिट बाँडफाँडका लागि संविधानले दिएको सुविधाको दुरूपयोग भयो । प्रदेशमा पनि सुधार आवश्यक छ ।’ 

नयाँ संविधान आएपछि ०७४ मा भएको पहिलो प्रदेशसभा निर्वाचनपछि गठन भएका प्रदेश सरकारहरूमा ७ वटा मन्त्रालय मात्रै कायम भएका थिए । तर, ०७७ तत्कालीन सत्तारूढ पार्टी नेकपामा आएको विभाजनले केन्द्रदेखि प्रदेशसम्मका सत्ता समीकरण बिथोलिन पुगेको थियो । संघदेखि सबै प्रदेश(मधेश बाहेक) मा नेकपाको सरकार थियो । तर, पार्टीमा आएको विभाजनले अन्य दलहरूसँग गठबन्धन गर्नुपर्ने भएपछि प्रदेशमा पनि मन्त्रालय तथा मन्त्रीको संख्या बढाउने क्रम सुरू भएको थियो । त्यो क्रम अझैसम्म जारी छ ।

गत वर्ष मधेश सरकारमा मन्त्रीहरूको संख्या २० पुर्‍याइएको थियो । कोशी र बागमतीमा मन्त्रालयको संख्या १२ देखि १४ सम्म पुर्‍याइयो । बाँकी प्रदेशहरू पनि गठबन्धनका दललाई भाग पुर्‍याउन मन्त्रालयाई फुटाएर संख्या बढाउने कार्यलाई निरन्तरता दिँदै आएका छन् । 

प्रदेशमा धेरै मन्त्रालय र मन्त्री भए । गठबन्धनका नाममा झ्यालझ्यालमा मन्त्रालय र मन्त्री राखिए । त्यसले जनतामा प्रदेशप्रति नै निराशा र आक्रोश बढायो । त्यसलाई सुधार्ने अहिले राम्रो अवसर आएको छ। -खिमलाल देवकोटा, संघीयताविद्  
राजनीतिक दलहरूले संविधानको त्यही प्रावधानलाई आफू अनुकुल प्रयोग गर्दै आएका छन् । सत्तामा भाग मिलाउने नाममा प्रदेशमा मन्त्रालयको संख्या बढाएर मन्त्री थप्ने कार्य हुँदै आएको छ । संघमा भने मन्त्रीको संख्या २५ सम्म राख्न मिल्ने संविधानमा तोकिएको छ । तर, प्रदेशको हकमा संविधानमै मन्त्रीको संख्या किटान गरिएको छैन । संविधानले दिएको ‘स्पेस’ को लाभ दलहरूले उठाउँदै आएका छन् । मन्त्रालय र मन्त्रीको संख्या थपिएसँग राज्यलाई थप आर्थिक दायित्व सिर्जना हुँदै आएको छ । अहिले कोशीमा मुख्यमन्त्रीको कार्यालयसहित १० मन्त्रालय र १२ जना मन्त्री छन् । मधेश प्रदेशमा मुख्यमन्त्रीसहित १० जना मन्त्री छन् । बागमती–१४, गण्डकी–८ लुम्बिनी–१२, कर्णाली–८ र सुदूरपश्चिमममा–९ सदस्यीय मन्त्रिपरिषद् छन् । 

प्रशासनविद् काशिराज दाहालले प्रदेशमा कांग्रेस वा एमालेले सरकारको नेतृत्व गरिरहेकाले उनीहरूले जनताको विश्वास जित्न प्रशासनिक संरचना, सेवा प्रवाह तथा सुशासनमा सुधार गरेर जानसक्नुपर्ने बताउँछन् । ‘संघले शासकीय सुधारमा राम्रो सुरूवातको नेतृत्व गरेको छ । प्रदेश सरकारहरू यसमा सहयोगी हुनसक्नुपर्छ । प्रदेश मन्त्रालय उत्पादनको कारखाना भयो, भनेर प्रदेशप्रति वितृष्णा बढ्यो,’ उनले भने ‘प्रदेशप्रति जनताको विश्वास जगाउन, सकारात्मक भाव बढाउन पनि प्रदेशले आफूमा सुधार ल्याउन सक्नुपर्छ । ढिलो गर्नुहुन्न । प्रदेशको औचित्यमा जनताको समर्थन लिन प्रशासनिक संरचना र बजेटका व्यवस्थापन चुस्त दुरूस्त बनाउनुपर्छ ।’ 

प्रदेशमा मन्त्रालयको संख्या ५ देखि ७ मा समिति गर्नुपर्ने उनले सुझाए । राष्ट्रिय राजस्व, ऋण तथा खर्चको अवस्था हेरेर प्रदेशले विवेकपूर्ण निर्णय लिनुपर्ने उनले बताए । प्रदेशलाई प्रशासनिक आकार घटाउन केन्द्र सरकारले पनि आग्रह वा सुझाव दिन सक्ने उनले उल्लेख गरे । 

मधेश, बागमती, सुदूरपश्चिम र गण्डकी प्रदेश सरकारको नेतृत्व कांग्रेसले गरेको छ । त्यस्तै, कोशी, कर्णाली र लुम्बिनीमा प्रदेश सरकारको नेतृत्व एमालले गरेको छ । मधेश प्रदेश बाहेकका प्रदेशमा कांग्रेस र एमाले गठबन्धनको सरकार छ । मधेशमा भने कांग्रेस नेतृत्वको सरकारमा नेकपा र मधेशवादी दल सहभागी छन् ।

सार्वजनिक खर्च घटाउन केन्द्र, प्रदेश र स्थानीय सबैतिर प्रशासनिक संरचनालाई चुस्त दुरूस्त पार्नुपर्ने अर्थविद डिल्लीराज खनाल बताउँछन् । ‘मर्निङ सोज द डे’ भनेजस्तो संघमा बनेको नयाँ सरकारले त्यसतर्फ राम्रो कदम चालेका बेला प्रदेशले पनि अनुत्पादक खर्च घटाउन सहयोग गर्नुपर्ने उनले बताए । ‘संघ सरकारले चालेको कदमलाई हेर्दै, केन्द्रको भावनालाई बुझेर प्रदेश सरकारहरूले प्रोएक्टिभली कदम चाल्नुपर्छ,’ उनले भने ‘संघ सरकारले प्रदेश सरकारसँग बसेर तर्कका साथ प्रशासनिक सुधारका लागि आग्रह पनि गर्न सक्छ ।’ कांग्रेस र एमाले पनि नयाँ ढंगले जानुपर्ने उनले सुझाए ।

‘उनीहरू हिजो हिँडिरहेका बाटो काम लाग्दैन । जनताले त्यसलाई अस्वीकार गरिसके । त्यसबाट पाठ सिक्न सक्नुपर्छ,’ उनले भने ‘प्रदेशको खर्च र उसको पर्फर्मेन्समाथि प्रश्न छ । त्यसलाई सुधार गरेर नयाँ ढंगले जानुपर्छ ।’  त्यसको पहल प्रदेशमा मन्त्रालयको संख्यालाई घटाएर गर्न सकिने उनले उल्लेख गरे । जसरी पनि सत्ता टिकाउने प्रवृतिको अन्त्य नगरिए आगामी प्रदेशको चुनाव पनि पुराना दलहरूका लागि प्रत्यूत्पादक हुने उनले बताए । 

राजेश दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय मिश्र कान्तिपुर दैनिकका संवाददाता हुन्। उनी राजनीति, कुटनीति, निर्वाचन प्रणाली र संघीयताका बिषयमा लेख्छन् ।

Link copied successfully