संस्थागत रुपमा पार्टीको समानान्तर गतिविधि गरेको आरोपमा अनुशासन समितिको बुधबार बसेको बैठकले तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सचेत गराउने निर्णय लिएको हो ।
What you should know
काठमाडौँ — कांग्रेसका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पार्टीको केन्द्रीय अनुशासन समितिले सचेत गराउने निर्णय लिएको छ । संस्थागत रुपमा पार्टीको समानान्तर गतिविधि गरेको आरोपमा अनुशासन समितिको बुधबार बसेको बैठकले सचेत गराउने निर्णय लिएको हो ।
खडकाले ‘कार्यवाहक सभापति’ हैसियत राखेर पार्टीको ‘लेटरहेड’ प्रयोग गरी गत शनीबार विज्ञप्ति निकालेको विषयलाई अनुशासन समितिले सचेत गराउनु पर्नाको मुख्य आधार मानेको छ ।
खड्काले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउको विषयमा विज्ञिप्ति निकालेका थिए । निर्वाचनको समीक्षा र समसामयिक विषयमा छलफल गर्ने भन्दै उनले १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको भन्दै मंगलबार र बुधबार धुम्बारबाहीस्थित स्मार्ट होटलमा बैठक राखेका थिए । तर, नेता शेखर कोइराला र उनी पक्षीय नेताहरुले पार्टीको संस्थागत व्यानरमा समानान्तर देखिनेगरी बैठक नराख्न दबाब दिएपछि त्यसलाई अनौपचारिक भेलामा परिणत गरिएको थियो ।
‘नेपाली कांग्रेसको नक्कली लेटरप्याड बनाएर प्रयोग गरी आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै आफू पार्टीको जिम्मेवारीमा छु भनी मिति २०८२ चैत १४ गते अनाधिकृत वक्तव्य जारी गर्ने कार्य गलत भएकाले सचेत गराइएको छ’ नाम उल्लेख नगरी अनुशासन समितिले भनेको छ ।
‘साथै अब उप्रान्त यस किसिमको मगलत काम गर्ने जो कोही व्यक्ति उपर नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) र प्रचलित नेपाल कानुन बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउने निर्णय गर्दछ,’ समितिको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ । यता धुम्बाराहीमा खड्काले मंगलबार सुरु गरेको भेला बुधबार पनि जारी छ ।
