एमालेले ओली पक्राउविरुद्ध २४ चैतमा केन्द्र, जिल्ला र स्थानीयस्तरमा विरोधका कार्यक्रम गर्ने निर्णय पनि गरेको छ ।
काठमाडौं — एमाले केन्द्रीय सचिवालय बैठकले सडक, सदन र कानुनी बाटोबाट प्रतिवाद गर्ने निर्णय गरेको छ ।
बैठकपछि महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्नु गैरकानुनी र प्रतिशोधपूर्ण भएको भन्दै सदन र सडकबाट प्रतिवाद गर्ने निर्णय गरेको बताए । उनले सदन, सडक र कानुनी बाटोबाट अघि बढ्ने बताए ।
‘अध्यक्ष केपी ओलीको गैरकानुनी गिरफ्तारीविरुद्ध संसद्, सडक, कानुन र राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको छ,’ महासचिव पोरखेलले भने, ‘अध्यक्षको पक्राउविरुद्ध शान्तिपूर्ण आन्दोलनबाट प्रतिशोधपूर्ण धरपकड गरी राज्य आतंक सृजना भएको छ । हामी एकताबद्ध प्रतिवादका लागि राजनीतिक दल, नागरिक समाज सबैमा हार्दिक अनुरोध गर्छौं ।’
त्यस्तै एमालेले २४ चैतमा केन्द्र, जिल्ला र स्थानीयस्तरमा कार्यक्रम गर्ने निर्णय गरेको छ । ‘मुलुकलाई मुढभेड र आतंक सृजना गर्न सरकार अघि बढेको छ । लोकतन्त्रको रक्षा गर्न सफल हुन्छौं भन्ने विश्वास छ,’ पोखरेलले भने ।
