२३ भदौमा जेन-जी आन्दोलनका क्रममा भएको मानवीय क्षतिमा जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मेवार ठहर्याएपछि छानबिनका लागि भन्दै प्रहरीले गत शनिबार हिरासतमा लिएकाे हो ।
What you should know
काठमाडौं — अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि एमाले संसदीय दलको नेता चयन अवरुद्ध भएको छ ।
२३ भदौकाे जेन-जी आन्दोलनमा भएको मानवीय क्षतिमा जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई जिम्मेवार ठह्याएपछि छानबिनका लागि प्रहरीले गत शनिबार हिरासतमा लिएकाे हो । उनी अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा प्रहरी निगरानीमा उपचाररत छन् ।
पक्राउ पर्नुअघि एमाले उपाध्यक्ष रामबहादुर थापालाई संसदीय दलको नेता बनाउने ओलीको तयारी थियो । तर, उनी नै प्रहरी हिरासतमा रहेकाले प्रक्रिया अवरुद्ध भएको छ ।
एमाले प्रचार विभाग संयोजक मीनबहादुर शाहीले अध्यक्ष ओली रिहा भएपछि महत्वपूर्ण निर्णय हुने बताए । ‘अध्यक्ष रिहा भएपछि दलको नेता चयनलगायत महत्वपूर्ण निर्णय हुन्छन्,’ उनले भने ।
ओली हिरासतमा भए पनि शिक्षण अस्पतालमा गएर नेताहरूले भेटेर कुराकानी गरिरहेका छन् । एमाले महासचिव शंकर पोखरेलले सोमबार ओलीलाई भेट गरी सडक आन्दोलनबारे छलफल गरेका थिए । ओलीको निर्देशनअनुसार मंगलबार सचिवालय बैठक बसेको छ । सचिवालय बैठकमा ओली पक्राउविरुद्ध सडक, सदन र कानुनी लडाइबारे छलफल भएको छ ।
हिरासतबाट उनले सडक आन्दोलन चर्काउन निर्देशन दिएको एक नेताले बताए । ओलीलाई पक्राउ गरेपछि एमाले सडक प्रदर्शन र कानुनी संघर्षमा छ । ओली रिहाइको माग गर्दै दैनिक सडक प्रदर्शन गरिरहेको छ भने सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको मुद्दा परेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीले दलको नेता चयन गरिसकेका छन् । कांग्रेस र एमालेले भने दलको नेता चयन गरेका छैनन् ।
एमालेको भदौ तेस्रो साता भएको महाधिवेशनबाट नेतृत्व चयन भए पनि नेताहरूको जिम्मेवारी बाँडफाँट भएको छैन । उसले केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँट गर्ने तयारी गरेको थियो । ओली पक्राउ परेपछि त्यो तयारी पनि राेकिएकाे छ ।
