ओलीलाई रिहा गर्न एमाले सांसदको माग, प्रधानमन्त्री शाहले दिएनन् प्रतिक्रिया 

एमाले सांसद राजेन्द्र राईले प्रधानमन्त्री शाहलाई भनेका थिए, 'पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ‌केपी ओलीलाई प्रतिशोध साँधेर पक्राउ गरिएको छ । सरकारले उहाँलाई तुरुन्तै रिहाइ गर्नुपर्छ, तत्काल रिहाइ गर्न माग गर्दछु ।'

चैत्र १६, २०८२

कान्तिपुर संवाददाता

UML MP demands Oli's release, PM Shah does not respond

What you should know

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहसामू एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरिएको विषय उठाइएको छ । एमालेका सांसदले ओलीलाई राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरिएको भन्दै तत्काल रिहाइ गर्न प्रधानमन्त्री शाहको ध्यानाकर्षण गराएका थिए । 

प्रधानमन्त्री शाहले सोमबार कोशी प्रदेशका सांसदहरूलाई त्यहाँको विकास निर्माणको विषयमा छलफल गर्न सिंहदरबार बोलाएका थिए । त्यसक्रममा एमालेका सांसद राजेन्द्र राईले अध्यक्ष ओलीलाई पक्राउ गरिएको विषय उठाएका हुन् । 

राईले भनेका थिए, 'पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ‌केपी ओलीलाई प्रतिशोध साँधेर पक्राउ गरिएको छ । सरकारले उहाँलाई तुरुन्तै रिहाइ गर्नुपर्छ, तत्काल रिहाइ गर्न माग गर्दछु ।'

एमालेका सांसद राईले उठाएको यो विषयमा प्रधानमन्त्री शाहले भने प्रतिक्रिया दिएका थिएनन् । सांसदहरूले आफ्नो क्षेत्रको विकास निमार्णको अवस्था र आगामी बजेटमा ल्याउनुपर्ने योजनाबारे राखेका जिज्ञासाको जवाफ शाहले दिएका थिए । सांसदहरूले विकास निर्माणका सम्बन्धमा राखेका कुराको बजेटअनुसार उचित सम्बोधन गरिने प्रधानमन्त्री शाहले बताएका थिए । 

बैठकमा सहभागी एक सांसदले भने, 'हामीले विकास निर्माणसँग सम्बन्धित राखेका कुरा प्रधानमन्त्रीले जवाफ दिनुभएको थियो । तर, ओलीलाई पक्राउ गरिएको सम्बन्धमा भने उहाँको केही पनि जवाफ थिएन ।'  

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीलाई प्रहरीले शनिबार भक्तपुरबाट पक्राउ गरेको थियो । भदौ २३ मा जेन-जी प्रदर्शनकारीमाथि गोली चलाउन नरोकेको भनी गौरीबहादुर कार्की नेतृत्वको आयोगले दिएको प्रतिवेदन कार्यान्वयनका क्रममा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको छ । दुवै जनालाई काठमाडौं जिल्ला अदालतले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । एमालेेले अध्यक्ष ओलीको पक्राउको विरोधमा सडक र कानुनी लडाइँ लड्ने घोषणा गरेको छ ।

कान्तिपुर

Link copied successfully