अदालतबाट ५ दिन हिरासतमा राख्ने अनुमति पाएको प्रहरीले अनुसन्धानका क्रममा ओली र लेखकको बयान लिने तयारी थालेको हो ।
काठमाडौँ — प्रहरीले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बयान मंगलबारदेखि थाल्ने तयारी गरेको छ ।
अदालतबाट ५ दिन हिरासतमा राख्ने अनुमति पाएको प्रहरीले अनुसन्धानका क्रममा ओली र लेखकको बयान लिने तयारी थालेको हो ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाका अनुसार, २३ र २४ भदौको जाँचबुझ आयोग प्रतिवेदनमा केन्द्रीत भएर थप प्रमाणसमेत जुटाउने प्रयास प्रहरीले गरिरहेको छ । 'प्रतिवेदनको कार्यान्वयनका लागि उहाँहरूलाई पक्राउ गरिएको हो र सोहीअनुसार बयान लिनेलगायतका काम सम्भवतः मंगलबारदेखि सुरू हुन्छ,' उनले कान्तिपुरसँग भने, 'त्यसका लागि अनुसन्धान अधिकृतहरूले तयारी गरिरहेका छन् ।'
कतिपय प्रश्नहरू प्रमाणका आधारमा सोध्नुपर्ने भएकाले त्यसबारे तयारी गर्ने काम भइरहेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । ओलीलाई स्वास्थ्य समस्याका कारण अहिले त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । लेखक प्रहरीको महाराजगञ्जस्थित २ नम्बर गणमा छन् ।
ओलीलाई म्याद थपका लागि अनलाइनबाटै हाजिर गराइएको थियो । लेखक भने अदालत पुगेका थिए । स्वास्थ्य र सुरक्षाका कारण बयानच कसरी लिने भन्ने टुंगो लागि नसकेको अधिकृतहरू बताउँछन् ।
गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनले ओली, लेखकलाई मुलुकी अपराध संहिताको दफा १८१ र १८२ अनुसार कारबाही गर्न सिफारिस गरेको थियो । दफा १८१ मा ‘कसैले लापर्बाहीपूर्ण काम गरेर कसैको ज्यान मार्न नहुने’ र १८२ मा ‘हेलचेक्र्याइँपूर्ण कुनै काम गरी कसैको ज्यान मार्न नहुने’ भनिएको छ । दफा १८१ अनुसारको कसुर पुष्टि भए ३ देखि १० वर्षसम्म कैद र ३० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ भने दफा १८२ मा दुई वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था छ ।
