पूर्णबहादुर खड्काले ‘कार्यवाहक सभापति’कै हैसियतमा पार्टीको लेटरहेड प्रयोग गरेर विज्ञप्ति निकालेपछि अनुशासन समितिले कारबाहीको प्रक्रिया अघि बढाउन सक्ने तयारी गरिएको छ ।
What you should know
काठमाडौँ — कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टी केन्द्रीय कार्यसमितिको नाममा समानान्तर गतिविधि चलाउन लागेपछि पार्टी सभापति गगन थापा पक्ष आक्रोशित भएको छ । थापाले आजै पार्टीका पदाधिकारीहरूको अनौपचारिक बैठकमा छलफल गर्ने छन् ।
बुधबार अनुशासन समितिको बैठक बोलाइएको छ । बैठकले देउवा पक्षका नेता पूर्णबहादुर खड्काले ‘कार्यवाहक सभापति’कै हैसियतमा पार्टीको लेटरहेड प्रयोग गरी शनिबार निकालेको विज्ञप्ति र मंगलबार बस्न लागेको बैठकका बारेमा छलफल गर्ने भएको छ । त्यस छलफलको आधारमा अनुशासन समितिले कारबाहीको प्रक्रिया अघि बढाउन सक्ने चेतावनी संस्थापन पक्षीय नेताहरूले दिएका छन् ।
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउको विरोधमा खड्काले कार्यवाहक सभापतिकै हैसियत राखेर पार्टीको लेटरहेडमा विज्ञप्ति निकालेका थिए । उनले मंगलबार निर्वाचनको समीक्षा र ओली तथा लेखक पक्राउबारे छलफल गर्न भन्दै बैठकसमेत राखेका छन् । खड्काले केन्द्रीय कार्यसमितिको बैठक भन्दै तत्कालीन केन्द्रीय कार्यसमितिमा रहेका आफ्नो पक्षका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थितिका लागि आग्रह गरेका छन् । तत्कालीन मुख्यसचिव कृष्ण पौडेलले बैठकमा उपस्थित हुन सबैलाई टेलिफोन गरेर बोलाएका छन् । बैठक मंगलबार र बुधबारसम्म चल्ने जनाइएको छ ।
पौडेलले निर्वाचनमा पार्टीको हार र पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा बैठकमा छलफल हुने बताए । 'निर्वाचनमा पार्टी कसरी पराजित भयो भन्नेबारे पनि समीक्षा गर्छौं,' उनले भने, 'त्यसपछि घटेका राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल हुन्छ ।'
उनले केही समयमै जिल्ला सभापतिहरूको भेला पनि हुने बताए । खड्काले भने १९ चैतमै जिल्ला सभापतिहरूको भेला हुने जानकारी गराएका छन् ।
देउवा पक्षले विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिलाई स्वीकार गरेको छैन । विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिलाई ४ माघमा निर्वाचन आयोगले मान्यता दिएको थियो । त्यसको विरोधमा तत्कालीन सभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खडकाले अदालतमा रिट दायर गरेका छन् । त्यसको पेशी आगामी २२ चैतका लागि तोकिएको छ ।
देउवा पक्षीय नेता जितजंग बस्नेतले अदालतको निर्णय नआउँदासम्म दुई पक्षबीच समानान्तर गतिविधि चल्ने बताए । 'अदालतले यस्तो गम्भीर विषयमा निर्णय गर्न ढिलाइ गर्नु हुँदैन । चाँडै निर्णय दिनुपर्छ । अदालतको निर्णयबाट नै कांग्रेसको एकताको बाटो खुल्छ,' उनले भने, 'अहिले हामीले विशेष महाधिवेशनको अस्तित्व स्वीकार गरेका छैनौं, त्यसैले समानान्तर गतिविधि चल्छ ।'
महामन्त्री प्रदीप पौडेलले विधिको शासनका लागि लडेका नेताहरूले नै संवैधानिक निकायका निर्णय र राजनीतिक दलसम्बन्धी कानुनविपरीत हिँड्न खोज्नु दुर्भाग्यपूर्ण भएको बताए । राज्यको कानुनअनुसार संवैधानिक निकायले दिएको निर्णय मन नपरे पनि मान्नुपर्ने उनले बताए ।
'पार्टी एउटा विधिमा अडिएको हुन्छ । राजनीतिक दलले राज्यको दलसम्बन्धी कानुनको मान्यता र राज्य संरचनाको निर्णयलाई मान्नैपर्छ । चित्त नबुझे पनि मान्नुपर्छ । मूल्य–मान्यतालाई मानेर मर्यादा कायम गर्नुपर्छ । हाम्रा नेता विधिको शासन र लोकतन्त्रका लागि लामो समय लडेका हुन्,' उनले भने, 'लोकतन्त्रका लागि लडेको सार्थकता पुष्टि गर्न पनि मान्यता कायम राख्नुपर्छ । तर अहिले त्यस्तो देखिएको छैन ।'
खड्काले सोमबार राजधानीको एक होटलमा राष्ट्रिय सभा र प्रतिनिधिसभामा नवनिर्वाचित सदस्यहरूका लागि स्वागत कार्यक्रम पनि आयोजना गरेका थिए । पार्टी संस्थापनले गत शनिबार राखेकै जस्तो संसदीय अभ्याससम्बन्धी जानकारी दिने कार्यक्रमका लागि उनले सांसदहरूलाई बोलाएका थिए ।
यी सबै गतिविधिलाई नजिकबाट नियालिरहेको अनुशासन समितिले खड्कासहितका नेतामाथि कारबाही गर्ने सम्भावनाबारे पार्टीभित्र छलफल भइरहेको छ । 'यस्ता गतिविधि नरोकिए कारबाही प्रक्रिया अघि बढाउनुपर्ने अवस्था आउन सक्छ,' एक संस्थापन पक्षीय नेताले भने, 'पहिले स्पष्टीकरण सोध्ने, त्यसपछि सदस्यता नवीकरण नगर्ने लगायतका कदम चालिन सक्ने देखिन्छ ।'
०००
'कानुन मान्छु भन्ने नेताले संवैधानिक निकायको निर्णयलाई चुनौती दिन पाउँदैन'
प्रदीप पौडेल, महामन्त्री, कांग्रेस
शेरबहादुर देउवा समूहले केन्द्रीय कार्यसमितिको नाममा समानान्तर गतिविधि चलाउन खोजेपछि तपाईंहरू उहाँहरूमाथि कारबाही गर्न लाग्नुभएको हो ?
पार्टी भनेको एउटा विधिमा अडिएको हुन्छ । राजनीतिक दलले राज्यको दलसम्बन्धी कानुनको मान्यता र राज्य संरचनाको निर्णयलाई मान्नुपर्छ । चित्त नबुझे पनि मान्नुपर्छ । मूल्य–मान्यतालाई मानेर मर्यादा कायम गर्नुपर्छ । हाम्रा नेता विधिको शासन र लोकतन्त्रका लागि लामो समय लडेका हुन् । लोकतन्त्रका लागि लडेको सार्थकता पुष्टि गर्न पनि मान्यता कायम राख्नुपर्छ । तर अहिले एउटा पक्षले त्यस्तो गरेको देखिएन । त्यसैले त्यो मर्यादालाई ख्याल गर्न म विशेष अनुरोध गर्दछु ।
तपाईंहरूको अनुरोध पनि मानिएन र समानान्तर गतिविधि अघि बढ्यो भने के गर्नुहुन्छ ?
यस्ता गतिविधि अघि बढ्दा द्वन्द्व बढ्छ । आफ्नो बाटो हिँड्ने, मिल्दै नमिल्ने, छुट्टिएको छुट्टिने अवस्था आउन सक्छ । अहिले पार्टी एकताको सूत्र नियमित महाधिवेशन छिटो गर्ने नै हो । त्योभन्दा अर्को विकल्प छैन । नियमित महाधिवेशनको प्रक्रियामा सबै जोडिनुपर्छ । कसैले पनि ‘मेरो गोरुको बाह्रै टक्का’ भनेर हिँड्न हुँदैन । यसले पार्टीलाई थप कमजोर बनाउँछ । राज्यको विधि र कानुनले निर्धारण गरेको कुरा र संवैधानिक निकायले गरेको निर्णय स्वीकार गर्नुपर्छ । अदालतले जे निर्णय गर्छ, सबैले स्वीकार्ने अवस्था हुन्छ । यो बीचमा नियमित महाधिवेशनमा सबै मिलेर जानुको विकल्प छैन ।
तपाईंहरूले एकताका लागि देउवा पक्षीय नेताहरूसँग संवाद गर्नुभएन भन्ने आरोप छ नि ?
विधिले निर्धारण गरेको नेतृत्वलाई मान्दिनँ भन्ने अवस्थामा मिलाउन कठिन हुन्छ । विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई स्वीकार गर्नुपर्छ । पार्टीका अग्रज र अभिभावकलाई स्पेस नदिने कुरा हुँदैन । चुनाव सकिएको छ । चुनावमा भएका कमजोरीको मूल्यांकन महाधिवेशनले गर्छ । अहिलेको नेतृत्वका कारण परिणाम आयो कि आएन भन्ने मूल्यांकन पनि त्यहीँ हुन्छ । त्यसका लागि सबै मिलेर अधिवेशनको तयारी गर्नुपर्छ ।
बुधबार बोलाइएको अनुशासन समितिले समानान्तर गतिविधि गर्नेहरूमाथि कारबाही गर्न खोजेको हो ?
आफ्नो कुरा मात्रै ठिक हो भनेर जबर्जस्ती गर्न खोज्दा त्यस्तो दिशातिर जान सक्छ । त्यसले एकता भंग हुन्छ, शक्ति क्षयीकरण हुन्छ र पार्टी थप कमजोर हुन्छ । अनुशासनका विषयमा छलफल हुन्छ, त्यसपछि के गर्ने भन्ने तय हुन्छ ।
